अब कक्षा ९ मामात्र रजिस्ट्रेसन फाराम भरे पुग्ने

काठमाडौं,०१ कार्तिक ।
अबदेखि कक्षा ९ मा मात्र रजिस्ट्रेसन फाराम भरे पुग्छ । माध्यमिक तहमा कक्षा ९ र कक्षा ११ मा दोहोरो रजिस्ट्रेसन फाराम भराउने गरिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले माध्यमिक तहमा कक्षा ९ मामात्र रजिस्ट्रेसन फाराम भर्न प्राविधिक अध्ययन गर्नका लागि समिति गठन गरिएको जानकारी दिनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डले गत साता कक्षा ११ का लागि रजिस्ट्रेसन फाराम भर्नका लागि कात्तिक मसान्तसम्मको समयावधि दिएर सूचना सार्वजनिक गरेको थियो । बोर्डका अध्यक्ष डा. शर्माले औपचारिक निर्णय हुन बाँकी भएकाले यसपटक कक्षा ११ का विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्नुपर्ने हुन्छ र २०८० सालदेखि कक्षा ११ का विद्यार्थीले सो भर्नु नपर्ने बताउनुभयो ।
सरकारले कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तह बनाइसकेकोले एउटै तहभित्र दुईपटक रजिस्ट्रेसन फाराम भर्नु उपयुक्त नहुने माग निकैअघिदेखि गरिँदै आएको थियो । कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले केही वर्षअघि यससम्बन्धी प्रस्ताव पनि बोर्डमा लगेको थियो तर बोर्डले आफूले गरिरहेको आम्दानी रोक्ने ‘अप्रिय’ निर्णय गर्न चाहेन र सो प्रस्ताव सिधै अस्वीकृत गरिदिएको थियो । अब माध्यमिक तहमा एकपटकमात्र रजिस्ट्रेसन फाराम भर्ने निर्णयबाट कम्तीमा २० करोड रुपियाँ बोर्डले गुमाउनु पर्ने हुन्छ तर विद्यार्थीले निकै ठूलो राहत पाउने छन् ।
विगतमा असोज कात्तिक महिनामा कक्षा ९ को रजिस्ट्रेसन फाराम भराउने गरिन्थ्यो । बोर्डले यस बारेमा प्राविधिक अध्ययन गरिरहेकोले अहिलेसम्म सो खुला गरिएको छैन । “नयाँ निर्णय गर्न लागेकाले केही समय ढिला हुनसक्छ” अध्यक्ष डा. शर्माले भन्नुभयो ।