आइमिनको गणित सिक्ने नमूना परियोजना प्रभावकारी, पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रममा प्रवेश

57
भक्तपुर, २५ असोज : नेपालमा गणित विषय अधिकांश विद्यार्थीका लागि कठिन विषयका रुपमा मानिन्छ । सिक्ने विद्यार्थीलाई मात्रै नभई सिकाउने शिक्षकले समेत यो विषयलाई कठिन विषयको रुपमा लिने गरेका छन् ।
गणित विषयको सिकाई सहज र प्रभावकारी बनाउने उदेश्यले भक्तपुरको चाँगुनारायण नगरपालिकाको ३४ वटा सामुदायिक विद्यालयमा विगत तीन वर्षदेखि नमूना सिकाइका रुपमा कक्षा १ देखि ३ सम्म लागू गरिएको जापानीज गणित सिकाईको असल पद्धति सहज र प्रभावकारी भएको निष्कर्ष सहित जिल्लाका चारवटै नगरपालिकामा यो सिकाई पद्धति लागू गरिने भएको छ ।

जाइकाको आइमिन (Improving Mathematies Education In Nepal- IMEN) परियोजनाले नमूनाको रुपमा सञ्चालन गरेको गणित विषयको शिक्षण सिकाईको राम्रो अभ्यासकोबारेमा जिल्ला समन्वय समिति भक्तपुरमा आयोजित कार्यक्रममा जापानीज सिकाई पद्धति निकै प्रभावकारी भएको निष्कर्ष निकालिएको हो ।
जापानको असल अभ्यासलाई यहाँ ल्याएर लागू गर्दा सिकाईमा धेरै प्रभावकारी देखिएको कार्यक्रममा सहभागि चारवटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका प्रमुख, प्रतिनिधि, प्रधानाध्यापकहरुले बताउदै विद्यार्थीले खेल्दै गणित सिक्दै गर्ने यो पद्धतिलाई सबै नगरपालिकाले लागू गर्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा जिल्ला समनवय समिति भक्तपुरका प्रमुख इश्वर थापाले चाँगुनारायण नगरपालिकाका केही सामुदायिक विद्यालयमा नमूनाको रुपमा सञ्चालित यो परियोजनाले गणित विषयको शिक्षक सिकाई प्रभावकारी भएको निष्कर्ष निकालिसकेकाले अब जिल्लाका चारवटै पालिकाले यो सिकाई पद्धतिलाई आफ्ना विद्यालयमा लागू गर्नु पर्ने बताउनु भयो ।
उहाँले विद्यार्थीलाई मात्रै नभई शिक्षक, अभिभावक सबैलाई गणित विषय वास्तबमै कठिन विषयको रुपमा लिदै आएको र यो विषयको अध्ययन गर्ने विद्यार्थीसमेत कम भएको अबस्थामा जगदेखिनै गणित विषयको सिकाई मजबुद बनाउने आइमिन परियोजनाले ल्याएको सिकाई पद्धति र यहाँको पद्धतिलाई समायोजन गरि यहाँका विद्यालयमा लागू गरिेएको बताउनु भयो ।
सामुदायिक विद्यालयमा गणित विषयको राम्रो सिकाईका लागि जिल्लाका चारवटै नगरपालिकाले गणित विषयको असल सिकाई पद्धतिलाई अब लागू गरिने उहाँले औल्याउनुभयो ।

कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रकी निर्देशक प्रमिला बखतीले यो परियोजना लागू हुनु भन्दा पहिला र परियोजना लागू भइसके पछिको भिन्नता निकै फराकिलो रहेको बताउदै हिजोसम्म गणित कठिन विषय रहेछ भन्नेहरु अहिले मानिसका दैनिक जीवनमा समेत गणित नजानी नहुने विषय रहेछ भन्दै गणितको सिकाई तथा क्षमता विकासमा लागिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, “बालबालकालाई सानो कक्षामा आधारभूत क्रियाकलाप पनि नगराई माथिल्लो कक्षामा लैजाने प्रबृत्ति र कक्षामा गणित विषयको सामान्य अवधारणा पनि नबुझ्ने धेरै विद्यार्थी छन्, गणितको आधारभूत सिकाइ पनि विद्यार्थीले नजान्दै कोर्ष मात्रै सिध्याउने रणनीति लिने जस्ता लापर्वाहीले थप कमजोर हुदै गएको हो ।”

यो विषयलाई राम्रो र प्रभावकारी बनाउन पाठ्यक्रम निर्माणदेखि नीति निर्माण तहनै सक्रिय हुनु पर्नेमा जोड दिदै उहाँले यसका लागि अभिभावक र विद्यालयको सहकार्य पनि अत्यावश्यक रहेको औल्याउनु भयो । शिक्षकले विद्यालयमा सिकाएको कुरा घरमा लगेर जोड्न नसक्नु ठूलो कमजोरी भएको भन्दै कक्षामा सिकाईमा स्पष्टता नभए त्यही अड्किएर बस्ने नभई घरमा पुगेर त्यसलाई अभिभावकले पनि सहजीकरणका गर्दा गणितको सिकाई सफल भएको उहाँले बताउनुभयो ।
घरमा परिवारले सहयोग गर्दा सिकाईमा प्रगति हुन्छ र विद्यार्थीमा सिक्ने रुची बढ्छ भन्ने कुरालाई यो परियोजनाले प्रमाणित गरेको भन्दै केन्द्रकी निर्देशक बखतीले भन्नुभयो, “पाठ्यक्रम विकास केन्द्रले तयार पार्ने पाठ्यक्रममा अहिले आइमिन परियोजनाको सिकाई पद्धतिको असल अभ्यासलाई पनि छिराएको बताउदै विद्यार्थीको सिकाइमा परिवर्तन ल्याउन टिचर गाईड, प्राक्टिसका लागि स्वअध्यन सामग्रीहरु तयार पारेर विद्यालयहरुमा वितरण गर्दै अभिभावकहरुसम्म पुरयाउने बताउनुभयो ।

कार्यक्रममा परियोजना लागू भएको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित महेन्द्रग्राम माधयमिक विद्यालयका प्रधानाध्यापक सोमकुमार श्रेष्ठ, गणेश माध्यमिक विद्यालय छालिङका प्रधानाधयापक इन्द्रबहादुर फोजुलगायतले गणित विषयको शिक्षण उपलब्धी निकै रहेको भन्दै नगरपालिकाले आगामी बजेटमा यसका लागि व्यबस्थापन गर्दै परियोजनालाई निरन्रता दिनु पर्ने औल्याउनु भयो ।
कार्यक्रममा शिक्षा विकास तथा मानव श्रोत विकास केन्दैका सञ्जिव चौधरी, शिक्षा विकास तथा समन्वय इकाइका ध्रुव कोइराला, चारवटै नगरपालिकाका प्रशासकीय प्रमुखले यो परियोजनाले अभिभावकलाई समेत जिम्मेवार बनाउदै शिक्षण सिकाईलाई प्रभावकारी बनाउने भएकाले आगामी शैक्षिक सत्रदेखि जिल्लाका सबै पालिकाले लागू गर्ने बताउनु भयो ।
परियोजनाले शिक्षकलाई कसरी सिकाउने र अभिभावकले आफ्ना बालबालिकाको सिकाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा दुबै पक्षलाई तालिम दिएर दक्ष बनाई विद्यालयदेखि घरसम्म सिकाईलाई जोडेर गणित विषयको सिकाई राम्रो र प्रभावकारी बनाएको आइमिन परियोजना भक्तपुर जिल्ला कार्यक्रम अधिकृत लक्ष्मी भट्टराई (पाण्डे) ले बताउनु भयो ।
आइमिन परियोजनाका मेगुमी सोयोताले प्रारम्भिक कक्षा १, २ र ३ का बालबालिकाहरुका लागि गणित विषयको सिकाई उपलब्धी बृद्धि गर्दै सिकाई सुदिृढिकरणका लागि शिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले परियोजना लागू गरिएको बताउनु भयो ।
यसअघि परियोजना लागू भएकै चरणमा पनि आइमिनले बिभिन्न चरणमा भक्तपुरका चार नगरपालिकाका सरोकारवाला व्यक्तिहरुलाई नगर शिक्षा योजना, शिक्षण सिकाई क्षमता बिकास तालिम सञ्चालन गरेको थियो भने विद्यार्थीहरुको गणित विषयको आधारभूत दक्षता (Foundational Mathematics Proficiency) हासिल गर्न अतिरिक्त कक्षा १ मा गणित विषय शिक्षण सम्बन्धी चाँगुनारायण नगरपालिका अन्तर्गतका ३४ वटा सामुदायीक विद्यालय गणित विषयका ३४ जना शिक्षकलाई बिभिन्न चरणमा तालिम प्रदान गरेको थियो ।
परियोजनाले चाँगुनारायण नगरपालिका अन्तर्गतका ३४ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ मा पढ्ने विद्यार्थीहरुका लागि गणित विषय सम्बन्धि स्वाध्याय सामाग्री वितरण गरि प्रयोगमा ल्याएर घरघरमा अभिभावकका लागि समेत पाठ तयार पार्दै वितरण गरेको थियो ।