उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप

नेपालगञ्ज,३० भदौ । बाँकेको नरैनापुर गाउँपालिकाले २६ जना उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । विद्यालयले उत्कृष्ट काम गरेकालाई सम्मान र पुरस्कृत गरिएको पालिकाले जनाएको छ ।

दक्षिणा यादव र पवनसिंह यादवले एसईईमा पालिकामा सर्वोत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण  भएकोमा दुबै जनालाई ल्यापटप प्रदान गरिएको छ । अन्य उत्कृष्ट विद्यार्थीलाई कपी, झोला, प्रमाणपत्र प्रदान गरी सम्मानित गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साहले विकास भनेको सडक निर्माण गर्नु मात्र नभई गुणस्तरीय शिक्षामा अघि बढ्नु पनि विकास भएको चर्चा गर्नुभयो । गाउँपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालका अनुसार सम्मानले भावी दिनमा शिक्षण सिकाइमा उर्जा प्रदान गर्ने बताउनुभयो । ल्यापटप पाएका विद्यार्थी पवनसिंह यादवले आफुले कल्पना समेत नगरेको पुरस्कार पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । यसबाट अन्य विद्यार्थीलाई पनि हौसला पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद थारुले शिक्षामा पछाडि परेको नरैनापुरलाई क्रमश माथि उठाउने काम भैरहेको बताउनुभयो । केही वर्ष पहिलेसम्म यो क्षेत्रका अधिकांश विद्यालयमा शिक्षक र बालबालिका दुबै नभेटिने गरेकोमा हाल आएर शिक्षक र विद्यार्थी दुबै नियमित भएको बताउनुभयो ।

Website | + posts