कक्षाकार्य र गृहकार्यमै सीमित शिक्षण सिकाइ

काठमाडौं,१२ असोज ।
विद्यालयमा कखरा चिन्दै गरेका छोराछोरीका लागि यसरी गृहकार्यको माग गर्ने अभिभावक धेरै हुन्छन् । शिशु कक्षाका मात्र होइन एलकेजी र यूकेजीका विद्यार्थीका कतिपय अभिभावक पनि गृहकार्य थपिमाग्छन् । कतिपय अभिभावकले छोराछोरीले अक्षर चिने कि चिनेनन् भनेर घरमा बुझ्नेभन्दा पनि कक्षाकार्य गरे कि गरेनन्, शिक्षकले गृहकार्य दिए कि दिएनन् भनेर सोधपुछ गर्छन् ।
विशेष गरी शिशुकक्षाका साना विद्यार्थीहरूलाई सबैभन्दा पहिले अक्षर चिनाउनु तथा लेखनका आधारभूत सीप सिकाउनुपर्ने हुन्छ, जसका लागि लेखपढको सामान्य अभ्यासले मात्र पुग्दैन । विभिन्न शैक्षिक सामग्रीसहितको शिक्षणसिकाइ चाहिन्छ । तिनलाई लेखपढभन्दा पनि शैक्षिक सामग्रीले बढी आकर्षित गर्छ । जस्तो आटा र सुजीलाई पनि शैक्षिक सामग्रीका रूपमा उपयोग गर्न सकिन्छ । यसबाट बनाइने खेल सामग्रीले उनीहरूलाई उत्साहित मात्र बनाउँदैन आफैं पनि खेल्न अग्रसर बनाउँछ । बालविकास कक्षामा यसरी खेल्दै ६ महिना वा वर्ष दिनसम्म सिकेका सीपले उनीहरूलाई शिशुकक्षामा राम्ररी अक्षर चिन्न र लेख्न प्रोत्साहन मिल्छ ।
शिशुकक्षामा साँवा अक्षर लेख्न र पढ्न सिकेकाहरूलाई एलकेजीमा सरल शब्दहरू सिकाउँदै शब्दभण्डार बढाउने अभ्यास गराउनुपर्छ । यसो गरे विद्यार्थीहरूले यूकेजीमा सरल वाक्य सहजै गठन गर्न सिक्छन् । यस्तै पूर्वप्रावि तहका कतिपय विषय पढाउने र लेखाउनेभन्दा पनि अतिरिक्त क्रियाकलाप गर्दै सिकाउनुपर्ने हुन्छ ।
विद्यालयका अधिकांश अभिभावक छोराछोरी सधैंभरि लेखपढ गरिरहुन भन्ने चाहन्छन् र उनीहरूकै इच्छा पूरा गर्न शिक्षक तथा विद्यालय व्यवस्थापन कम्मर कसेर लागेको देखिन्छ । एक त उमेर नपुगी विद्यालय भर्ना गर्न हतारिने अर्को विद्यालय जानेबित्तिकै लेखपढ गर्न थालोस् भनेर अतिरिक्त चाहना राख्ने अभिभावककै कारण पूर्वप्राथमिक तहको शिक्षणसिकाइ निष्क्रिय बन्न पुगेको देखिन्छ ।
पूर्वप्रावितहदेखि नै कक्षाकार्य र गृहकार्यको बोझ बोक्नुपर्ने विद्यार्थीहरूको बालमनोविज्ञानमा परिरहेको असर पर्नेबारे न शिक्षक संवेदनशील छन् न त अभिभावक नै । अझ कतिपय नानीबाबुलाई कक्षामा प्रथम आउनकै लागि ट्युसनसमेत पढाउने गरिन्छ । यसो गर्दा विद्यार्थीहरूको पढाइ राम्रो भए पनि घर र विद्यालयको चौघेराभन्दा बाहिरको समाजबाट भने अलगथलग हुन्छन् । आफ्नो समाजबारे अनभिज्ञ हुन्छन् । अझ कतिपय अभिभावक छोराछोरी त कोठाबाट बाहिर निस्कँदैनन भनेर गौरवान्वित महसुस गर्छन् । यस्तो व्यवहारले औपचारिक शिक्षा फलदायी बन्न सकेको छैन ।
हुन पनि, ठूलाको तुलनामा पूर्वप्राथमिक तहका बालबालिकाको शिक्षणसिकाइ कक्षाकार्य र गृहकार्यभन्दा माथि उठ्न सकेको छैन । यसले समग्र स्कुले शिक्षाको प्रारम्भिक शिक्षणसिकाइ नै नीरस बन्न पुगेको छ । अभिभावकको अति चाहना र विद्यालय व्यवस्थापन लगायत शिक्षकहरूले पनि सोहीअनुरूपको शिक्षणसिकाइ गर्नाले यस्तो भएको छ । कक्षाकार्य र गृहकार्यको बोझले विद्यार्थीहरूको वर्तमान मात्र होइन, भविष्य नै अन्योलग्रस्त बनिरहेको छ ।

Website | + posts