किताब छपाइमा लापरबाही ः कुनैमा स्टिच छैन, कुनैमा अक्षर अस्पष्ट १

१ वर्ष अगाडि FEATURE POST, लेख Education Voice Desk

काठमाडौं,१६ जेठ ।
काठमाण्डौको बागबजारमा रहेको सहिद शुक्र माविमा कक्षा १० मा पढ्ने गायत्री सोती मगर किताब किन्न पुतलीसडकको पुस्तक पसल पुग्दा अचम्ममा पर्नुभयो । उहाँले पसलमा रहेका सबै किताब छान्नु भयो । तर एउटै पनि राम्रो भेटिएन । कुनैमा अक्षर प्रष्ट छैनन् त कुनैमा अगाडि पेजको अक्षर पछाडिसमेत छापिएका छन् ।
किताबको बाहिरी कभरमा पनि राम्रोसँग स्टिच लागेको छैन । किताब पल्टाउँदा बीचबीचबाट पाना निस्किन्छन् । कुनै किताब मैला र पुराना देखिन्छन्, कुनैका पाना जोडिएका छन् । कुनै किताबको आकार पनि बाङ्गो टिङ्गो छ । नयाँ किताब हेर्दा त पढुँ पढुँ लाग्नुपर्ने हो, तर फोहर र च्यातिएको पाना देख्दा पढ्ने जाँगर नै हराउँछ । छोरालाई किताब किन्न पुतलीसडक पुग्नुभएका कोटेश्वरका प्रकाशचन्द्र घिमिरे पनि यस्तै चिन्तामा हुनुहुन्छ ।
काठमाण्डौका केही पुस्तक पसलमा मात्रै होइन, धेरैतिर यस्तै समस्या छ । एकातिर भनेको बेलामा किताब पाइँदैन, अर्कोतिर बल्लतल्ल छापिएर आएको किताब गुणस्तरीय छैन । भनेकोजस्तो किताब नपाउँदा विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकलाई त चिन्ता छ नै, पुस्तक पसलेहरुलाई पनि छुट्टै समस्या छ ।
देशभरका विद्यालयमा झन्डै १ करोड ९० लाख किताबको माग भए पनि अहिलेसम्म १ करोड ६० लाख किताब मात्र छापिएको छ । भर्ना भएको १५ दिनसम्ममा विद्यार्थीले किताब पाइसक्नु पर्ने नियम भए पनि त्यसो हुन सकेको छैन । समयमै किताब नपाउने विद्यार्थी त अन्योलमा छन् नै, किताब पाउने विद्यार्थीलाई पनि किताब देख्दैमा दिक्क लागेको छ ।

Website | + posts