कोरोनाबाट जोगिन विद्यालय बन्यो ब्यारेक

रमेश गिरी

भक्तपुर । कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रणमा सडकदेखि बिभिन्न ठाउँमा अग्रभागमा खटिने प्रहरीलाई यसको सङ्क्रमणबाट जोगाउन विद्यालयलाई अस्थायी व्यारेक बनाई राखिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितको संख्या नेपालमा दिनानुदिन बढ्दै गएपछि प्रहरी पनि उच्च जोखिममा रहेकाले सामाजिक एवं भौतिक दूरी कायम राख्दै डियुटीमा परिचालन गर्न सहज बनाउन महानगरीय प्रहरी परिषर भक्तपुरले विद्यालयका कक्षाकोठालाई अस्थायी प्रहरी व्यारेक बनाएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती, बृत्त थिमि र बिभिन्न ठाउँमा रहेका प्रहरी प्रभागमार्फत ड्यूटीमा खटिने प्रहरी र कर्मचारीको सामाजिक दूरी कायम राख्न विद्यालयलाई प्रहरी ब्यारेकको रुपमा प्रयोग गर्नु परेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । परिषरका प्रहरी उपरीक्षक प्रधानले भन्नुभयो–“सबै प्रहरीलाई एउटै व्यारेकमा राख्दा कोरोना रोकथामको क्रममा अग्रभागमा खटिने एक जना प्रहरीमा मात्रै कोरोना सङ्क्रमण भए त्यसले सिंगो व्यारेकका प्रहरीलाई असर गर्ने सम्भावना हुन्छ, त्यसैले सङ्क्रमणको जोखिम कम गर्न फरक फरक ठाउँमा सामुदायिक विद्यालयको कक्षाकोठालाई ब्यारेकको रुपमा सञ्चालन गरेका हौ ।”

प्रहरी परिषर, बृत्त र प्रभागहरुबाट डिय्टीमा खटिने सबै प्रहरी र कर्मचारीलाई भौतिक दूरी कायम गर्दै खाने मेस, सुत्ने ब्यारेक, छुट्टाछुट्टै शौचालय र बाथरुमको व्यवस्था गर्न व्यारेकमा सम्भव नभएपछि जिल्लाका सामुदायिक विद्यालयहरुलाई अस्थायी व्यारेक बनाएको हो ।
जिल्लास्थित संकट व्यबस्थापन समिति (सीएमसी) को बैठकले निर्णय गरी सम्बन्धित नगरपालिका र विद्यालयको समन्वयमा विद्यालयको केही भागलाई व्यारेक बनाएको हो । आफ्नो व्यारेक र विद्यालयको अस्थायी व्यारेकमा बसेका प्रहरीहरु बिच एक आपसमा जमघट नहुने गरी फरकफरक समयको डिय्टी तालिकाअनुसार खटिने भएकाले जोखिम कम हुने प्रहरीको भनाइ छ ।

 

परिषरले जिल्लाका नौ विद्यालय, सीटीईभीटीको कार्यालय र चाँगुनारायण नगरपालिका २ नं.वडा कार्यालय भवनलाई ब्यारेकको रुपमा प्रयोग गरी प्रहरीले परिचालन गरेको छ । प्रहरी उपरीक्षक प्रधानका अनुसार महानगरीय प्रहरी परिसर भक्तपुर मार्फत खटिने प्रहरीमध्ये २८ विद्यार्थी निकेतन माविमा, २२ शारदा माविमा, दरबार स्क्वायर प्रहरी प्रभागका ७ जनालाई पद्म माविको व्यारेकमा राखिएको छ ।

त्यस्तै महानगरीय प्रहरी वृत्त जगातीमा रहेका प्रहरीमध्ये ४२ लाई आदर्श आजाद मावि भेलुखेलमा, सूर्यविनायक नपाको कटुञ्जे प्रभागका १२ लाई सुवर्णेश्वर माविमा, दधिकोट प्रभागका पाँचलाई अरनिको मावि दधिकोटमा, बालकोट प्रभागका सातलाई पुरानो प्रभाग भवनको अस्थायी व्यारेकमा राखिएको छ । चाँगुनारायण नपाको सुडाल प्रभागका ६ लाई महेन्द्र माविमा चाँगुनारायण दुवाकोटका ६ लाई दुवाकोट वडा नं. २ को नयाँ भवनको अस्थायी व्यारेकमा राखिएको छ । त्यस्तै महानगरीय प्रहरी बृत्त ठिमीका २० लाई सिद्धिकाली माविमा, प्रहरी प्रभाग सानोठिमीका ११ प्रहरीलाई भने सिटीईभिटीको कार्यालय भवनको अस्थायी ब्यारेक राखिएको छ ।

“अहिलेको स्वास्थ्य विपदमा यहाँका विद्यालय प्रहरीको सारथी बनेका छन्, एउटै व्यारेकमा राख्दा एकजनालाई सङ्क्रमण भयो भने सिंगो व्यारेकका सबैलाई एकैपटक क्वारिन्टनमा राख्नुपर्ने बाध्यता हुन आउछ,” प्रहरी उपरीक्षक प्रधानले भन्नुभयो, “यस्तो अबस्था आएमा सुरक्षामा नै असर पार्न सक्छ, त्यसैले विद्यालय र सरकारी भवनलाई अस्थायी व्यारेक बनाए्र आफ्नो व्यारेक र अस्थायी व्यारेकमा विभाजन गरेर राखेका छौँ ।” जिल्लामा रहेका प्रहरी मध्ये एक तिहाईलाई मात्रै विद्यालय र सरकारी भवनमा राखिएको जानकारी दिदै विद्यालय र कार्यालय सञ्चालनमा आउने भएपछि सबै प्रहरीलाई ती ठाउँबाट हटाएर पठनपाठनमा सहज बनाउने उहाँको भनाई थियो ।

Website | + posts