पारागन ऐकेडेमीका प्रिन्सिपल एवम् कवि पूण्यराम कवांंको कविता संग्रह ‘ह्युपाया नीति’ विमोचन

भक्तपुर, २३ चैत । पारागन ऐकेडेमीका प्रिन्सिपल एवम् कवि पूण्यराम कवांंको कविता संग्रह ‘ह्युपाया नीति’ विमोचन गरिएको छ । आरम्भ नेपालले भक्तपुरको कमलविनायकस्थित लामगाल चौरमा आयोजना गरेको पुस्तक प्रदर्शनीमा कवि कवांको पहिलो कविता संग्रह ‘ह्युपाया नीति’ को नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रबिन्द्र ज्याख्वले विमोचन गर्नु भएको हो ।

आरम्भ नेपालले प्रकाशन गरेको उक्त कविता संग्रहबारे समिक्षा गर्दै ज्याख्वले साहित्यले देश र जनताको पक्षमा आवाज बुलुन्द गर्नु पर्ने चर्चा गर्दै गरिब, शोषित पीडित तथा आवाज बिहिनहरुको आवाज बनेर साहित्य रचना प्रस्फुटन हुनु पर्नेमा जोड दिनु भयो ।

पछिल्लो समय आधुनिक प्रबिधि र सामाजिक सञ्जालको लतले नयाँ पुस्तामा पुस्तक अध्ययन गर्ने रुची हराउदै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले नयाँ पुस्तालाई पुस्तक अध्ययनका लागि उत्प्रेरित गरि पठन संस्कृतिको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेपालभाषा साहित्य तमुंज्याका अध्यक्ष आशकुमार चिकंबन्जारले नेपालभाषामा साहित्य लेख्न नेपाल भाषा प्रेमीलाई जागरुक बनाउनु पर्नेमा जोड दिदै साहित्यले तल्लो वर्गसम्मको बोली बोल्नु पर्ने बताउनु भयो ।

पुस्तक विमोचनमा कवि एवम् लेखक कवांले यो पुस्तक प्रकाशनले आफ्नो साहित्यप्रतिको रुची अझै बढेको बताउदै कार्यक्रमले आफूलाई साहित्य रचनामा उत्साह थपेको बताउनु भयो । कार्यक्रममा आरम्भ नेपालका अध्यक्ष बालकृष्ण बनमाला, कार्यक्रम संयोजक लक्ष्मीप्रसाद चवाल र सञ्चारकर्मी हरिसुन्दर छुकांले पनि पुस्तकबारे चर्चा गर्नु भएको थियो ।

Website | + posts