सन्तान खुशी पार्न के के पो गरेनन् यी बाबुहरुले

३ वर्ष अगाडि अशल अभिभावक admin

आमाको ममताको चर्चा त तपाईँ हामी सबैले सुनेका छौं, भोगेका पनि छौं । तर आफ्ना सन्तानप्रति बुबाको स्नेहको चर्चा भने खासै सुनिँदैन । यसको अर्थ यो होइन कि बुबाले आफ्ना सन्तानलाई खासै माया गर्दैनन् । बुबा आफैंमा मायाको पर्याय हुन् भने कर्तव्यवोध गराउने एक परिपक्व शिक्षक पनि । संसारमा कुन बुबा होलान् जो आफ्ना सन्तानलाई प्रेम नगर्लान् ?

तर संसारमा यस्ता बुबा पनि भेटिन्छन् जो हदैसम्म पार गरेर आफ्ना सन्तानलाई मायाँ गर्छन् । यहाँ त्यस्ता बुवाहरुको बारेमा चर्चा गरिँदैछ जो सबैका लागि प्रेरणाका स्रोत हुनसक्छन् । आउनुहोस् त्यस्ता बुबाका बारेमा जानौँ जसले आफ्ना सन्तानको लागि माया गरेको देखेर तपार्इँका पनि आँखा रसाउँछन्, उनीहरुलाई पुरस्कृत गर्न मन लाग्छ ।

बुबाले पूरा गरिदिए कोनर्स ह्यारिसनको सपना

१२ बर्षकै उमेरमा कोनर्सलाई क्यान्सर लागेको थियो। उनलाई डाक्टरले दिएको समयावधि सकिन मात्र ११ हप्ता थियो। उनका बुबा स्कट आफ्नो छोरा गुमाउनु पर्ने दुःखलाई मनभित्रै दबाएर बसेका थिए। आफ्नो अबोध छोरालाई त थाहा पनि थिएन होला क्यान्सर भनेको के हो भनेर। भर्खर फूलसरी फक्रनु पर्ने छोराको केहि समय मात्र आयु छ भन्ने थाहा पाएपछि बुबाले आफ्नो छोराको हर सपना पूरा गर्ने अठोट गरे र यस्तो अचम्मको घटना सम्भव भयो। कोनोर कार र त्यसको शो हेर्न खुब मन पराउँथे तर आफ्नो घर नजिक त्यस्तो ठाउँ कतैपनि थिएन। बुबाले इन्टरनेट मार्फत सबैलाई आफ्नो छोराको इच्छा पूरा गरिदिन आग्रह गरे। उनको आग्रहलाई स्वीकारेर एकैसाथ २२०० कार र ४००० मान्छे भेला भएका थिए। त्यो दिन कोनरको सबैभन्दा रमाइलो दिन थियो।

छोरालाई स्कूल पुर्याउन १८ माइल पैदल



चाइनाको यिविन भन्ने गाउँमा एकजना यस्ता बुबा भेटिन्छन्, जसले आफ्नो अशक्त छोरालाई पढाउनको लागि दैनिक १८ माइल पैदल यात्रा गर्छन्। छोराको इच्छा र गरिबीले गर्दा यी ४० बर्षिया बुबा दिनहुँ छोरालाई आफ्नो पिठ्युँमा बोकेर सरकारले निःशुल्क पढाउने विद्यालयतिर लाग्छन्। जुन उनको घरबाट ४.५ माइल टाढा छ। यति टाढा छोरालाई स्कूल छाडिराखेर उनी बल्ल आफ्नो काममा जान्छन्। यसरी आउँदा जाँदा उनले दैनिक १८ माइल हिड्नु पर्छ।

३ अशक्त छोरालाई दौडमा भाग



डिक होएट बोल्न तथा हिँड्न नसक्ने अशक्त हुन्, जसको हात पाउ समेत चल्दैन। उनको यो रोग डाक्टरले कहिल्यै निको नहुने घोषणा गरे तर उनका बुबा रिक होएटले आफ्ना छोरालाई जीवनभर बन्द कोठाभित्र सिमित हुन दिएनन्। त्यसैले उनी आफ्नो छोरालाई लिएर दौडमा निस्किए। छोरो खुशी पार्ने उदेश्यले उनले छोरासँग हजार भन्दा बढि दौड प्रतियोगितामा भाग लिइसकेका छन्।

४ छोरीको लागि टाउकोमा ट्याटु


आफ्ना छोराछोरीले असहज महसुस गर्दा हामी साधारणतया उनीहरुलाई फकाउँछौँ तर न्युजिल्यान्डका एक बुबा एलिस्टिएर क्याम्बेल आफ्नो छोरीको खुशीका लागि टाउकोमा ट्याटु खोप्न समेत तयार भए। आफ्नो ६ बर्षिया छोरी कोरलेटको काण नसुन्ने भएपछि कर्णावर्ती प्रत्यारोपण भएको थियो। प्रत्यारोपणपछि आफ्नो टाउकामा विशेष किसिमको उपकरण जडान गर्नुपर्यो। आफ्नो छोरीलाई असहज महसुस नहोस् भनेर छोरीको खुशीको लागि दुःख सहेर भए पनि ट्याटु खोपेको बुबा बताउँछन् ।

आफ्ना सन्तानलाई जोकोही पनि हदै माया गर्छन्। सन्तानप्रतिको माया जोखेर जोख्न सकिन्न र नापेर नाप्ने कुरा पनि होइन। तर आफ्ना सन्तानलाई यसरी  हद नै पार गरेर माया गरेको यस्ता घटनाहरुलाई मानिसले विर्सेपनि इन्टरनेटले सदा अमर कथा बनाइराख्नेछ ।

+ posts