सम्पादकीय : विद्यालय खोल्नेबारे बहस आवश्यक

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि विद्यालय बन्द भएको तीन महिना नाघिसकेको छ । यो अबधीमा विद्यालयले कक्षा सञ्चालन गर्नसकेका छैनन् । वैशाखमा तामझामका साथ विद्यार्थी भर्ना गरेर नियमित कक्षा सञ्चालन हुदै आएकोमा यसवर्ष कोरोना भाइरसको महामारीका कारण जटिल अबस्था सृजना भएको हो ।
२०७२ सालको महाभूकम्पले कयौ विद्यालय भवन भत्किए, कयौ विद्यालय जीर्ण भए, केही विद्यार्थीहरुको मृत्यु भयो । विद्यार्थीहरुमा भूकम्पको ठूलो त्रास जिवित रहदा विस्तारै पठनपाठन सहज हुदै गएको थियो । टहरामा कष्ट सहेर पनि विद्यार्थीहरुले कक्षा छाड्नु परेको थिएन । तर अहिले विश्वमहामारीको रुपमा फैलिएको कोभिड–१९ ले भने विद्यार्थीको भविश्य नै तहसनहस बनाउने अबस्था ल्याएको छ । सहज रुपमा यसको व्यबस्थापन गर्न नसके शिक्षा कै कारण विद्यार्थीको भविश्यक अनिश्चित बन्न नसक्ला भन्नु पर्दैन ।
कोरोनाको कहरबिच एसईई परीक्षा सञ्चालनको अन्यौल हटेको छ । सरकारले यसवर्ष एसईई परीक्षा सञ्चालन नगर्ने र आन्तरिक मूल्याङ्कनको आधारलाई मान्यता दिदै परीक्षाफल सार्वजनिक गर्ने नीति लिएपछि एसइईको अन्योल हटेपनि कक्षा ११ र १२ देखि स्नातक तह, स्नातकोत्तर तहको परीक्षाहरु सञ्चालन अझै अन्योल बनेका छन् । कक्षा ११ र १२ परीक्षा यथासम्भव छिटो गर्नुपर्ने अबस्था आएको छ । त्यस्तै विद्यालय तहदेखि विश्वविद्यालय, सीटीईभीटी, कक्षा ११ र १२ को कक्षा सञ्चालन समेत हुन नसक्दा शैक्षिक क्यालेण्डर नै डामाडोल हुने अबस्थामा पुगेको छ ।
विद्यालयमा नियमित पठनपाठन हुनसकेको छैन । कतिपय विद्यालयले भर्चुअल कक्षा सञ्चालन गरेका छन् भने सरकारले समेत दूर शिक्षाका माध्यमबाट रेडियो र टिभि लगायत इन्टरनेटबाट विद्यालय तहका कक्षाहरु असार १ गतेदेखि संचालनमा ल्याएको छ । विद्यालय आफैले र कतिपय स्थानीय तहले भर्चुअल कक्षा यूट्युभ कक्षा संचालन गरिरहेका छन् । तर सबै विद्यार्थीहरुमा भने यी कक्षाका पहुँच पुग्न नसक्दा कयौ विद्यार्थीहरु भर्चुअल, यूट्युबदेखि दूर शिक्षाका कक्षाहरुबाट पनि बञ्चित भएका छन् ।
कतिपय विद्यालयहरु क्वारेन्टिन बनेका छन् । त्यस्ता विदालयमा हुने पठनपाठन थप अन्यौल बनेका छन् । यस्तो अबस्थामा विद्यालयबाट क्वारेन्टिन हटाएर विश्व स्वास्थ्य संगठनको मापदण्डलाई अनुशरण गर्दै विद्यालय सञ्चालन हुन सक्छ कि भन्नेबारेमा बहस, छलफल र अध्ययन हुन जरुरी रहेको छ ।
यसका लागि स्कुल बसलाई संक्रमणरहित बनाउने, अनिवार्य रुपमा मास्क, सेनिटाइजर र साबुन पानीले हात धुने व्यवस्था गर्ने, नेपाल सरकारले तोकेको मापदण्डअनुसार सामाजिक एवं भौतिक दुरी कायम गर्ने गरी एउटा कक्षामा बढीमा २० जना राखेर अध्ययनलाई निरन्तरता दिन सकिने सम्भावनालाई नकार्न सकिन्न ।
विद्यालयमा प्रार्थनाकार्य नगराउने, २० जनाभन्दा बढी विद्यार्थी जम्मा हुनेगरी कुनै पनि क्रियाकलाप नगराइने र विद्यालय खुले पनि सुरुमा पठनपाठनको सट्टा मनोपरामर्श र सिर्जनात्मक कार्य अगाडि बढाउन सकिनेमा छलफल हुनु जरुरी छ । छलफलसंगै एउटा निश्चित निकासमा जान नसके शिक्षामा जटिल संकट निम्तिन सक्छ । कोरोना सङ्क्रमण लामो समय रोकिएन भने नियमित शिक्षालाई प्रभाव पार्ने र यसले विद्यार्थीको पढाईलाई एकवर्ष पछि मात्रै धकेल्दैन, यसले विद्यार्थीको भविश्यसमेत अन्यौल बनाउछ, त्यसैले सबै कारणबाट छलफल गर्दै निकास खोज्न अब ढिलाई गर्नु हुदैन ।