दुई हप्ते अन्तर्राष्ट्रिय मिडिया गोष्ठी भक्तपुरमा सुरु

भक्तपुर, १९ भदौ (रासस) ः अन्तर्राष्ट्रिय मिडिया विषयक कार्यशाला गोष्ठी भक्तपुरमा सुरु भएको छ । विद्यार्थीहरूलाई गरेर सिक्ने वातावरण सिर्जना गर्नका लागि वागीश्वरी कलेजको पत्रकारिता तथा आमसञ्चार विभागले आजबाट दुई हप्ते गोष्ठी सुरु गरेको हो ।

कार्यक्रममा वाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसार्ईले कार्यपत्र प्रस्तुतिले विद्यार्थीमा थप सिक्ने वातावरण निर्माण गर्ने बताउनु भयो । विभिन्न देशका विद्यार्थीहरूले पत्रकारिता इतिहास, कानुनी व्यवस्था र आचारसंहिताको खोजी गर्दै कार्यपत्रहरु प्रस्तुत गरी विज्ञहरूको टिप्पणी मार्फत कार्यपत्रलाई कसिलो बनाउने उदेश्यले गोष्ठी सञ्चालन गरेको हो ।

गोष्ठीमा विद्यार्थी एलिना भेलेले उत्तर कोरियाको मिडिया विषयक कार्यपत्र प्रस्तुत गर्दै उत्तर कोरियाबारे पश्चिमी मुलुकका मिडियाहरूले अनर्गल ढङ्गको प्रचार गर्ने गरेको बताउदै उत्तर कोरिया प्रचार गरिएजस्तो तानाशाही नभएको बताउनु भयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै सभासद् सुरेन्द्रराज गोसाईंले आफूले उत्तर कोरियाको भ्रमण गर्दा नितान्त बेग्लै ढङ्ग पाएको अनुभव सुनाउदै कोरियामा इन्टरनेटको सुविधा व्यापक रूपमा रहेको र विज्ञान तथा प्रविधिको विकास अद्भुत ढङ्गले भएको बताउनु भयो ।

नेपालमा पनि विभिन्न साइटहरू प्रतिबन्ध गरेजस्तो मुलुकलाई हानी गर्ने मिडियाका खबरलाई उत्तर कोरियाले निगरानीमा राख्ने गरेको र सोही अनुसार नै इन्टरनेटको पहुँच दिएको उहाँले बताउनुभयो । राजनीति शास्त्रका शिक्षक एवम् अधिवक्ता विकल प्रजापतिले उत्तर कोरियाको प्रेस कानुन र अन्य मुलुकको प्रेस कानुनमा तात्विक भिन्नता नभएको बताउनु भयो ।

वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरूको ज्ञान अभिवृद्धिका लागि कलेजले वातावरण निर्माण गर्ने गरेको र अन्तर्राष्ट्रिय परिस्थिति बुझ्न बुझाउन यस्ता कार्यक्रम गर्ने वागीश्वरीको संस्कार रहेको बताउनुभयो । पत्रकारिता तथा आमसञ्चारका शिक्षक पूर्णभक्त दुवालले दुई हप्ते गोष्ठीमा विद्यार्थीहरूले विभिन्न मुलुकको मिडियाबारे अध्ययन गरी कार्यपत्र प्रस्तुत गरी विज्ञहरूको सल्लाह र सुझाव अनुसार परिमार्जन गर्ने जानकारी दिनु भयो