श्रीपशुपति हिन्दू विश्वविद्यालय’ निर्माण प्रक्रिया अगाडि बढाउने
काठमाडौँ, ३ वैशाख : सरकारले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ निर्माण प्रक्रिया अगाडि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो ।
हिन्दू विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनसहित अवधारणापत्र तयार गर्न मन्त्रालद्वारा गठित विश्वविद्यालय सम्भाव्यता अध्ययन समितिले अध्ययनसहितको अवधारणा–पत्र २०७९ आज पर्यटनमन्त्री सुदन किरातीलाई बुझाएको छ ।
पर्यटन मन्त्रालयमा आज आयोजित कार्यक्रममा समितिका संयोजक संस्कृतविद् डा जगमान गुरुङले पर्यटनमन्त्रीलाई उक्त अवधारणापत्र हस्तान्तरण गर्नुभयो । विश्वविद्यालयको अवधारणापत्र ग्रहण गर्दै पर्यटनमन्त्री किरातीले अवधारणालाई शीघ्र कार्यान्वयनमा ल्याइने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “समयभित्रै महत्वपूर्ण प्रतिवेदन तयार भएको छ । यो प्रारम्भिक अवधारणा हो । यसको विस्तृत अध्ययनका लागि मन्त्रालयले समिति गठन गरेर छिट्टै विश्वविद्यालय निर्माण कार्य अघि बढाउछौँ ।” श्रीपशुपतिनाथ हिन्दू विश्वविद्यालय भव्य रुपमा सञ्चालन गर्न सकिने पर्यटनमन्त्री किरातीको भनाइ छ ।
गत फागुन १५ गतेको मन्त्रीस्तरीय निर्णयबाट हिन्दू विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनसहित अवधारणापत्र तयार गर्न संस्कृतिविद् डा जगमान गुरुङको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले एक महिनाभित्रै प्रतिवेदन तयार गरेको हो ।
हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले स्थापना गर्न लागिएको विश्वविद्यालयका माध्यमबाट हिन्दू धर्मसम्बन्धी विश्वभर विज्ञहरू उत्पादन गर्ने र सांस्कृतिक कूटनीतिक विकास हुने विश्वास लिइएको छ । समितिका संयोजक डा गुरुङले नेपाललाई विश्वकै अध्यात्मिक आकर्षण केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले हिन्दू विश्वविद्यालय स्थापना गर्न लागिएको बताउनुभयो ।





