नेपालमै पहिलोपटक स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश
1
भरतपुर, १५ कात्तिकः भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गरेको छ । नेपालमै पहिलोपटक रक्तदान शिक्षालाई पाठ्यक्रममा समावेश गरिएको महानगरले जनाएको छ ।
महानगरपालिकाले कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने बालबालिकाका लागि तयार पारेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गरेको हो । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार महानगरले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश गरिएको हो । चितवनमा धेरैजसो रगतको अभाव हुने भएकाले रक्तदान गर्न प्रेरणा दिनेगरी विपद् भन्ने पाठ्य क्षेत्रमा रक्तदानलाई समेटिएको उहाँले जानकारी दिनुभयो । बालबालिकामा मानवता, सेवाभाव र रक्तदानप्रतिको सकारात्मक सोच विकास गर्न यो शिक्षा महत्वपूर्ण हुने प्रमुख आचार्यले बताउनुभयो ।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले रक्तदानको आबश्यकता, महत्व र मानवीयताका दृष्ट्रिले स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समेटीएको बताउनुभयो । चिकित्सक र शिक्षाविद्को परामर्शका माध्यमबाट पाठ्यक्रममा स्थान दिइएको उहाँले जानकारी दिनुभयो ।
भरतपुरमा सङ्घीय अस्पताल भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, २० भन्दाबढी निजी अस्पताल छन् । यहाँ क्यान्सर, प्रसूति र दुर्घटनाका बिरामीलाई धेरै रगत आवश्यकपर्ने गर्दछ । वर्षभरी नै रगतको अभाव हुने भएपछि रक्तदानका लागि उत्प्रेरणा गर्न स्थानीय पाठ्यक्रममा नै यसको महत्व समावेश गरिएको कार्यवाहक प्रमुख अधिकारीले बताउनुभयो ।
जिल्लामा दैनिक १५० युनिट हाराहारी रगत माग हुने गरेको छ । रगत अभावका कारण बिरामीले रक्तदाता खोजेर रगत सङ्कलन गर्नुपर्ने बाध्यता हुने गरेको छ । महानगरपालिकाभित्र सामुदायिक विद्यालय १११ वटा र संस्थागत विद्यालय ९७ वटा रहेका छन् । ती विद्यालयमध्ये निम्न माध्यमिक तह अध्ययन गराउने सामुदायिकतर्फ ७४ र संस्थागततर्फ ८० वटा विद्यालय रहेको उहाँले जानकारी दिनुभयो । विद्यालयका निम्न माध्यमिक तहमा अध्ययन गर्ने २५ हजारभन्दा बढी विद्यार्थी छन् ।



