पठनपाठन सहज बनाउन हुम्लाका विद्यार्थीलाई रेडियो बितरण

६ वर्ष अगाडि बाल मानोविज्ञान admin

हुम्ला, २२ साउन ।
पठनपाठन सहज बनाउन हुम्लाको सिमकोट र नाम्खाका विद्यार्थीहरुलाई निःशूल्क रेडियो वितरण गरिएको छ । रेडियोबाट संचालित कक्षामा पहुँच नपुगेका कारण विद्यार्थीलाई रेडियो वितरण गरिएको हो । अब घरमा मोबाइल रेडियो नभएका विद्यार्थीहरुले रेडियो पाएपछि दूरशिक्षामा सहज भएको छ । मावि तहका विद्यार्थीहरुका लागि सदरमुकाम सिमकोट स्थित दुई रेडियोबाट कक्षा सञ्चालन भइरहेको छ । कक्षा सञ्चालन भए पनि विधार्थीको हातमा रेडियो नभएपछि पढाईमा सहभागिता हुन नसकेको गुनासो आएको थियो । रेडियो पाएपछि घरको छतमा समूहमा सामाजिक दूरी कायम गरी विद्यार्थीले रेडियो सुनेर अध्ययन गर्ने गरेको एक विद्यालयका शिक्षक पासाङ लामाले जानकारी दिनुभयो । रेडियो मार्फत नेपाली, अंग्रेजी, विज्ञान र सामाजिक विषयको पठनपाठन भएको उहाँले बताउनुभयो । सिमकोट र नाम्खा गाउँपालिकाका मावि तहमा अध्ययनरत विद्यार्थीहरुलाई पाँचजनाको समूह बनाएर एकथान रेडियो वितरण गरिएको हो ।