बैशाखदेखि बन्द रहेको पाल्पाका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ

काठमाडौँ, २८ भदौ ।
विश्वभर फैलिइरहेको कोरोना महामारीका कारण गत बैशाखदेखि बन्द रहेका पाल्पाका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ हुन थालेको छ । संकट व्यवस्थापन समितिको निर्णयलाई पालना गर्दै स्थानीय सरकारले विद्यालय खोल्ने निर्देशन दिएसँगै विद्यालय खोलिएको हो । गत बुधबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैंठकले वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा ‘स्मार्ट लकडाउन’ को अवधारणाअनुसार विद्यालय सञ्चालन गर्ने जिम्मा सम्बन्धित स्थानीय सरकारलाई नै दिएपछि यहाँका विद्यालय खुल्न थालेको जनाइएको छ । १० वटा स्थानीय तह रहेको जिल्लामा रम्भा गाउँपालिकाले आइतबारदेखि नै विद्यालय सञ्चालन गरेको बताउँदै जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णय र स्मार्ट लकडाउनको कार्ययोजनाअनुसार विद्यालय सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीले बताउनुभयो ।