दैलेखमा छिमेकी मुनाले गरिन् शिक्षकको हत्या
दैलेख, ३० भदौ । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्यामा संलग्न भन्दै प्रहरीले एक महिलालाई सार्वजनिक गरेको छ । ४२ वर्षका बिसीको शव उनले अध्यापन गराउने विद्यालयको प्रांगणमा भेटिएको थियो ।
दैलेख प्रहरीका अनुसार उनको हत्या उनकै छिमेकी २५ वर्षकी मुना रानाले गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । दैलेख प्रहरीका प्रमुख डिएसपी अनुपम श्रेष्ठका अनुसार मुनाले धारिलो हतियार प्रयोग गरेर शिक्षकको हत्या गरेकी हुन् । डिएसपी श्रेष्ठले मुनाले आफूले शिक्षक बिसीको हत्या गरेको स्वीकार गरेकी छिन् ।
छोटेपोखरास्थित घटनास्थलको पश्चिमपट्टी ३० मिटरको दूरीमा बसोबास गर्दै आएकी स्थानीय डम्बर खड्काको पत्नी मुना रानाले शिक्षक बिसीको हत्या गरेको स्वीकार गरेकी छिन्। मुनाले सोमबार राती साढे १ बजे व्यक्तिगत रिसिबीका कारण धारिलो हतियार प्रयोग गरी बिसीको घाँटी रेटेर हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छिन्।
‘मुनाले शिक्षक बिसीको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको भनी अनुसन्धानका क्रममा स्वीकार गरेकी छिन्’, डिएसपी श्रेष्ठले भने, ‘सोही आधारमा पीडित पक्षबाट जाहेरी दरखास्त लिइ कर्तव्य ज्यान कसुरको अनुसन्धानका लागि दैलेख जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखेर विस्तृत अनुसन्धान थालेका छौं।’ प्रहरीले मुनाको कोठाबाट धारिलो हतियार लगाएतका प्रमाणहरु समेत बरामद गरेको जनाएको छ।
सवुत प्रमाण संकलन र खानतलासी, बराम, मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान प्रक्रिया सम्पन्न गरी मृतक बिसीलाई धारिलो बस्तु प्रयोग गरी कर्तव्य गरी मारेको प्रारम्भिक अनुसन्धान पश्चात् घटनास्थलबाट प्राप्त भौतिक प्रमाण, प्राविधिक तथा तथ्यपरक अनुसन्धानको आधारमा शिक्षक बिसी हत्यामा मुना नै संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
शिक्षक बिसी मंगलबार बिहान ७ बजे मालिका मावि छोटेपोखराको टिनको छानो भएको विज्ञान प्रयोगशाला अगाडिको बरण्डामा घाँटी रेटी हत्या गरिएको अवस्थामा फेला परेका थिए। उक्त घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ईन्द्रजित सुनारको कमाण्डमा सोको अफिसर सहित प्रहरी चौकी लाँलीकाँडाको प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीले घटनास्थलबाट मृतक बिसीको मोबाइल, चप्पल बरामद गरेको थियो। प्रहरी निरिक्षक इन्द्रजित सुनारका अनुसार घटनामा संलग्न रहेको हुन सक्ने भन्दै शंकास्पद् १० जनालाई मंगलबार नै नियन्त्रणमा लिएको थियो। तीमध्ये हत्या घटनामा मुनाको प्रत्यक्ष संलग्न रहेको प्रहरीले जनाएको छ।
मृतक बिसी विगत १३ वर्षदेखि राहत शिक्षकको रुपमा मालिका माविमा कार्यरत थिए। उनी सोही विद्यालयका पूर्व विद्यार्थी समेत हुन्। मृतक बिसीका श्रीमती र दुई छोरा छन्। १९ वर्षीया सुनिल बिसी र १७ वर्षीय अंकित बिसी अध्ययनका लागि बाँकेको नेपालगञ्जमा बस्दै आएका पारिवारिक स्रोतले जनाएको छ। घटना भएको दिन शिक्षक बिसीकी पत्नी दैलेख सदरमुकाम आएकी थिइन्।





