सनकको भरमा हतारिएर विद्यालय सञ्चालन नगरौँ, मध्यपुरमा तिहार पछि मात्रै विद्यालय सञ्चालन : नगर प्रमुख श्रेष्ठ, आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

भक्तपुर, ३१ भदौ : मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सनकको भरमा हतारिएर विद्यालय सञ्चालन नगर्न प्याब्सनलाई आग्रह गर्नु भएको छ । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) मध्यपुर नगर समितिको आज आयोजना भएको दोश्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले अरु जिल्लामा विद्यालय खाल्यो भन्दै हतारिएर विद्यालय खोले पछुताउनु पर्ने बताउनु भएको हो ।
१८ वर्ष माथि उमेरकाले कोभिड बिरुद्धको भ्याक्सिन लगाए पनि १८ वर्ष मुनिका बालबालिकामा तेश्रो लहरको कोभिडको जोखिम कायमै रहेको भन्दै उहाँले मध्यपुरथिमि नगरपालिकाले उपत्यकाका १८ वटा नगरपालिका भन्दा पछि अन्तिममा मात्रै विद्यालय खोल्ने अनुमति दिने बताउनु भयो ।
दशैमा घर गएर आउनेहरुले थप कोभिडको जोखिम बढाउने भन्दै उहाँले दशै पछाडि विद्यालय सञ्चालनका लागि पूर्वाधारको तयारी गर्ने र कोभिड महामारीको अबस्था हेरेर मात्रै तिहार पछि विद्यालयमा भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्ने उहाँको भनाइ थियो ।
नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “सनकको भरमा विद्यालय सञ्चालन गर्दा कोभिडका कारण एउटा विद्यार्थीको मात्रै ज्यान गयो भने के हुन्छ ? त्यसैले भौतिक रुपमा विद्यालय सञ्चालन गरेपछि कुनै पनि विद्यार्थीको भौतिक क्षति नहुने गरि विद्यालय सञ्चालन गर्नुपर्छ अहिले विद्यालय खोल्न हतार नगरौँ ।”
अहिले विद्यालयले पनि नाफा घाँटा हेर्ने समय नभएको भन्दै उहाँले कोभिड भाइरसले कसैलाई पनि नचिन्ने भएकाले भोली हुने क्षतिलाई रोक्न आजै सचेत हुनुपर्ने औल्याउनुभयो । विद्यार्थीको कक्षा छुटे अर्को वर्ष अतिरिक्त कक्षा सञ्चालन गरेर पनि लैजान सकिन्छ भन्दै उहाँले एउटा विद्यार्थी कोरोना संक्रमित भए उसको परिवारमा हुने आर्थिक नोक्सान तथा मानसिक तनाब रहने र ज्यानै गए त्यो क्षतिको कुनै मूल्य नहुने भनाइ राख्नुभयो ।
अनलाइन कक्षा प्रभावकारी नभए पनि त्यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिदै उहाँले पढेका विद्यार्थीसँग अन्तिम परीक्षामा पनि शुल्क लिन सकिने भएकाले नआत्तिन उहाँले विद्यालय सञ्चालकहरुलाई आग्रह गर्नुभयो । विद्यालयमा हुने अस्वस्थ प्रतिस्पर्धालाई प्याब्सनले रोक्ने हो भने यहाँका विद्यार्थी कतै नजाने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
कडाइका साथ संघीयता कार्यान्वयन गर्ने देशकै पहिलो नमूना नगरपालिका मध्यपुरथिमि नगरपालिको भएको दाबी गर्दैै उहाँले स्थानीय तहको अधिकार माथि प्रदेश एवं संघीय सरकारबाट हस्तक्षेप भए त्यसलाई नमान्ने बताउनुभयो । नगरपालिकाले विकासको बजेट काटेर तलब खुवाउनु पर्ने गरि मन्त्रालयले सरुवा गरि पठाएको २२ जना कर्मचारीलाई नगरपालिकाले फिर्ता पठाएको भन्दै उहाँले एशियन टाउनस्कोप अवार्ड पाउने नेपालमै पहिलो मध्यपुरथिमि नगरपालिका भएको बताउनुभयो ।
मध्यपुरथिमि नगरपालिकामा आफू आएपछि विकासको लहर आएको चर्चा गर्दै उहाँले सम्पदाको संरक्षणका क्रममा २५ वटा मध्ये १५ वटा पोखरीको पुर्ननिर्माण गरेको, ९ वटामा पानी भरेको, ६ वटामा यहीँ वर्ष पानी भर्ने, १३ वटा पार्क निर्माण गरेको, तीन वटा ऐतिहासिक दरबार पुर्ननिर्माण गरेको, पानी आउने गरि २५ वटा ढुङ्गेधाराको पुर्ननिर्माण गरेको, ३७ वटा पाटी र पाँच वटा बिहार बनाएको, जात्रा पर्वको संरक्षण गर्दै सम्पदा संरक्षणमा नेपालमै अगाडि रहेको बताउनुभयो । खानेपानीदेखि ढल र सडकको विकासमा समेत नगरपालिकाले सफलतापूर्वक काम गरेको भन्दै उहाँले आफ्नो कार्यकालको जनताले मूल्यांकन गरेको बताउनुभयो ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमालले कोभिडका कारण विद्यालय चल्नै नसक्ने गरि नाजुक अबस्थामा पुगेको भन्दै अनलाइन कक्षा प्भावकारी नभएकाले भौतिक रुपमानै विद्यालय सञ्चालन गर्न नगरपालिकाले अनुमति दिनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालय सञ्चालनमा मापदण्ड निर्धारण गर्ने र हरेक साता अनुगमन गर्दै मापदण्ड पुरा नगर्नेलाई कारबाही गर्ने नीति लिएर पनि दशैँ अगाडि विद्यालय सञ्चालन गर्न पाउनु पर्ने बताउनुभयो ।
प्याब्सन केन्द्रीय सचिव भुवनलाल श्रेष्ठले कोभिडका कारण विद्यालय सञ्चालक निकै पीडामा परेको भन्दै असोज १ गतेदेखि अन्त जस्तै यहाँ पनि विद्यालय सञ्चालन गर्ने व्यबस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बजारदेखि बस, रेष्टुरेष्ट जताततै भीड गर्न हुने तर विद्यालय सञ्चालन गर्ने कुरा आउँदा हुदैन भन्ने प्रबृत्तिनै गलत भएको भभन्दै दशैमा शिक्षक कर्मचारीलाई तलब खुवाउन सक्ने अबस्थासमेत नभएको बताउनुभयो । सचिव श्रेष्ठले विद्यालयलाई नगरपालिकाले अनुदानको व्यबस्था गर्नुपर्ने भन्दै सरकारी विद्यालयले अनुदान पाउने तर निजीले नपाउने गरि भएको विभेदको अन्त्य हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सह कोषाध्यक्ष गणेशबाबु पोखरेलले प्याब्सन नगर समिति स्थानीय तहसँगै मिलेर जानु पर्ने बताउदै देशभर ४० भन्दा बढी जिल्लामा प्याब्सनको भवन भएको तर केन्द्रीय प्याब्सनको भवन नभएको अबस्थामा यसवर्ष ११ करोडको लागतमा भवन खरिद गरेको बताउनुभयो ।
प्याब्सन भक्तपुर जिल्ला अध्यक्ष चन्द्र अधिकारीले विद्यालय खोल्न सबै अभिभावक तयार नभएको अबस्थामा केहीलाई भौतिक रुपमा र केहीलाई अनलाइन कक्षा सञ्चालन गर्न सक्ने अबस्था नरहेको बताउनुभयो । विद्यालय सञ्चालन कहिले हुन्छ भन्ने चासो चौतर्फी रहेको भन्दै उहाँले अहिलेनै विद्यालय सञ्चालन गर्दा पनि सबै विद्यार्थी आउने अबस्था नरहेकाले खोल्दा पनि नखोल्दा पनि चुनौतीको चाङ्ग रहेको बताउनुभयो । कार्यक्रममा प्याब्सन भक्तपुरका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले विद्यालय भौतिक रुपमा सञ्चालन गर्ने व्यबस्था गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम सञ्चालक प्याब्सन मध्यपुरका सचिव रत्नमान शंखदेवले घरि बत्ति जाने, घरि इन्टरनेट स्लो हुने समस्याले अनलाइनक कक्षा प्रभावकारी नभएको बताउदै परीक्षा मात्रै भएपनि दशैँ अगाडि सञ्चालन गर्ने व्यबस्था गर्नु पर्ने बताउनुभयो ।
……………………………………………………………………………………………………………………………….
अधिवेशनले निलेश आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा शंकरकर्ण कायस्थ, सचिवमा रत्नमान शंखदेव, कोषाध्यक्षमा सुमन बस्नेत र सदस्यहरुमा आशाहरि प्रजापति, बुद्ध बाँडे, मनोज दिक्षित आचार्य, कृष्णहरि धवा श्रेष्ठ र अनिता श्रेष्ठलाई चयन गरेको छ ।