सूर्यविनायक नगर प्याब्सनको अधिवेशन सम्पन्न, मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
भक्तपुर, ४ असोज । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) सूर्यविनायक नगर समितिको अध्यक्षमा दिनेश मैनाली चयन हुनु भएको छ । नगर समितिले सिपाडोलको डोलेश्वर भिलेज रिसोर्टमा सम्पन्न गरेको दोश्रो अधिवेशनले उपाध्यक्षमा विनोद काफ्ले, सचिवमा खुम शर्मा, कोषाध्यक्षमा भोला चौधरी र सदस्यहरुमा कृष्ण भक्त ङाखुरी, बालकुमार खत्री र यज्ञराज भट्टराईलाई सर्वसम्मत चयन गरेको छ ।

सूर्यविनायक प्याब्सनका तत्कालिन अध्यक्ष सानुराजा कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमालले् उद्घाटन गर्नु भएको थियो । उपाध्यक्ष थापाले कोभिडका कारण विद्यालय चल्नै नसक्ने गरि समस्यामा परेको बताउनु भएको छ । उहाँले अनलाइन कक्षा सबै ठाउँमा प्रभावकारी नभएको बताउदै स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रुपमानै विद्यालय सञ्चालन गर्न नगरपालिकाले अनुमति दिनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालय सञ्चालनमा मापदण्ड निर्धारण गर्नु पर्छ भन्दै विद्यालयले भौतिक रुपमा कक्षा सञ्चालन गर्दा हरेक साता अनुगमन गर्ने र मापदण्ड पुरा नगर्नेलाई कारबाही गर्ने नीति लिएर भए पनि दशैँ अगाडि विद्यालय सञ्चालन गर्न नगरपालिकाले व्यबस्था गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । उहाँले विद्यालयलाई कसरी जोगाउन सरकार र नगरपालिकाले कर मिनाहा गर्नु पर्नेमा उहाँको भनाइ थियो ।

कार्यक्रममा प्याब्सन केन्द्रीय सचिव भुवनलाल श्रेष्ठले कोभिडका कारण विद्यालय निकै संकटमा परेको बताउदै भक्तपुरका स्थानीय तहले विद्यालय सञ्चालन गर्ने व्यबस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयको संकट व्यबस्थापनका लागि सरकारले सहुलियत ऋणको व्यबस्था गर्नु पर्ने बताउनुभयो ।
उहाँले असन, इन्द्रचोकदेखि व्यापारिक मल, बस, रेष्टुरेष्ट जताततै भीड गर्न हुने तर विद्यालय सञ्चालन गर्ने कुरा आउँदा कोरोनालाई देखाउदै हुदैन भन्ने सरकारको प्रबृत्तिनै गलत भएको बताउनु भयो । दशैमा शिक्षक कर्मचारीलाई तलब खुवाउन सक्ने अबस्थासमेत नभएको बताउदै सचिव श्रेष्ठले सरकारी विद्यालयले अनुदान पाउने तर निजीले नपाउने गरि भएको विभेदको अन्त्य हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सह कोषाध्यक्ष गणेशबाबु पोखरेलले प्याब्सन नगर समिति स्थानीय तहसँगै मिलेर जानु पर्ने बताउदै देशभर ४० भन्दा बढी जिल्लामा प्याब्सनको भवन भएको तर केन्द्रीय प्याब्सनको भवन नभएको अबस्थामा यसवर्ष ११ करोडको लागतमा भवन खरिद गरेको बताउनुभयो ।
प्याब्सन भक्तपुर जिल्ला अध्यक्ष चन्द्र अधिकारीले विद्यालय खोल्न सबै अभिभावक तयार नभएको बताउनु भयो । कोभिडको महामारीमा सबभन्दा बढी विद्यालय सञ्चालक मारमा परेको बताउदै भौतिक रुपमा विदालय सञ्चालन गर्न तयारी अबस्थामा रहेको बतानउनुभयो । अनलाइन कक्षा प्रभावकारी नभएको भन्दै विद्यालय भौतिक रुपमा सञ्चालन गर्न अभिभावकहरु तयार भए पनि केही अभिभावक अझै पनि जोखिम छ भन्दै विद्यालयमा छोराछोरी पठाउन तयार नभएकाले समस्या र चुनौती कायमै रहेको औल्याउनु भयो । तर भौतिक रुपमा कक्षा सञ्चालन गर्न सक्ने अबस्था नआएमा अनलाइन कक्षालाई भने निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सभापति सानुराजा कार्कीले विद्यालयहरु कोरोनाको मारमा परेको बताउदै यस्तो बेलामा पनि नगरपालिकाले निजी विद्यालयलाई अंकुश लगाउने कार्य गरेको बताउनुभयो । सूर्यविनायक नगरपालिकामा तत्कालिन प्रशासकीय प्रमुख कमल ज्ञवालीले निजी विद्यालयलाई एक लाख रुपैया कर लगाए पछि विवाद परेको स्मरण गर्दै उहाँले विद्यालय सञ्चालकले कालोमोसो दल्ने चेतावनी दिएपछि ज्ञवाली पछि हटेको बताउनुभयो । निजी विद्यालयलाई स्थानीय तहले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु पर्नेमा जोड दिदै उहाँले नयाँ नेतृत्वले जसतोसुकै परिस्थितिको सहज व्यबस्थापन गर्न सक्ने दायित्व लिनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य एवं भक्तपुरका सल्लाहकार श्रीकृष्ण केसी, अर्का केन्द्रीय सदस्य धर्मरत्न खाइतु, वाग्मति प्रदेश सहसचिव ऐश्वर्या विष्ट, काठमाडौं जिल्ला अध्यक्ष करिकृष्ण श्रेष्ठ, भक्तपुरका वरिष्ट उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, उपाध्यक्ष राजन कसपाल, उपाध्यक्ष विणा पाण्डे, सचिव कुमार श्रेष्ठ, डिल्लीराज जोशी, काठमाडौं जिल्ला कोषाध्यक्ष नवराज भट्ट, कामनपा अध्यक्ष मुरारी सञ्जेल, मध्यपुर नगर प्याब्सन अध्यक्ष निलेश आचार्यलगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।





