स्थानीय पाठ्क्रम लागू गर्दै सूर्यविनायक नगरपालिका

पाठ्यक्रममा नगरपालिकाको भूगोल, जनसंख्या, प्राकृतिक सम्पदा, स्थानीय विभिन्न जातजाति, भेषभूषा, व्यक्तित्व र जनसंख्या, प्रमुख धार्मिक सम्पदाहरु, स्थानीय चाँडपर्व, स्थानीय बोलीचाली, स्थानीय बाजागाजा, नाच, स्थानीय लोक संस्कृति, धर्म, संस्कार, रहनसहन, कृषि, पर्यटन, पेशा, व्यवसाय, खेल, जडिबुटी, सडक, योग, हरित विद्यालयजस्ता विषयहरु पाठ्यक्रममा समावेश गरिएका छन् ।

===============================

-रमेश गिरी

भक्तपुर, ११ असोज । सूर्यविनायक नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । सूर्यविनायष्क नगरपालिकाको पहिचानलाई विद्यालय तहदेखिनै जानकारी गराउने उदेश्यले नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्न लागेको हो ।

पाठ्यक्रम निर्माण सम्पन्न गर्दै त्यसलाई अन्तिम रुप दिएर त्यसलाई कक्षा कोठामा कार्यान्वयमा ल्याउने गरि काम भइरहेको स्थानीय पाठ्यक्रम निर्माण तथा सहजीकरण समितिका संयोजक, नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।

चालू शैक्षिक शत्रमा कक्षा १ देखि ५ सम्म र आगामी शैक्षिक शत्रमा कक्षा ६ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने गरि पाठ्यक्रम निर्माण भएको भन्दै उहाँले यसै सातासम्ममा सरोकारवालाहरुसँगको छलफलबाट पाठ्यक्रमलाई अन्तिम रुप दिइने बताउनुभयो ।

नगरपालिकाले सूर्यविनायक क्षेत्रमा दशै पछि भौतिक रुपमा विद्यालय सञ्चालन गर्न अनुमति दिएकाले दशै पछि कक्षा सञ्चालन हुँदा विद्यार्थीले स्थानीय पाठ्यक्रम पढ्न पाउने उहाँको भनाइ छ ।

संयोजक थापाले भन्नुभयो, “सूर्यविनायक नगरपालिका भक्तपुरको नयाँ नगरपालिका हो, त्यसैले शुरुको दुई वर्ष ऐन कानून निर्माण, नगरपालिकाको व्यबस्थापन र विकास निर्माणमा केन्द्रीत भयौँ, त्यसपछि दुई वर्ष कोभिडले पाठ्यक्रम निर्माणमा छलफल गर्ने वातावरणनै भएन, बल्ल अलि सहज भएपछि पाठ्यक्रम निर्माण सकेर लागू गर्न खोजेका हौ ।” कक्षा १ देखि ५ सम्म लागू हुने स्थानीय पाठ्यक्रममा स्थानीय १४ वटा विषय बस्तु समावेश गरिएका छन् ।

सूर्यविनायक नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कडेँलले दशै अगाडिनै पाठ्यक्रमलाई अन्तिम रुप दिएर सार्वजनिक गर्ने र दशैँ पछि कक्षा कोठामा कडाईका साथ कार्यान्वयनमा ल्याउने गरि नगरपालिकाले तयारी गरेको बताउनुभयो । कक्षा कोठामा स्थानीय पाठ्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनु आवश्यक छ भन्दै उहाँले स्थानीय पाठ्यक्रमलाई प्रयोगात्मक ढंगले अगाडि बढाइने जानकारी दिनुभयो ।

सूर्यविनायक नगरपालिका शिक्षा शाखाको शाखा अधिकृत सरस्वती कोइरालाले यस नगरपालिकाले आधारभूत तह कक्षा १ देखि ५ सम्मको ‘हाम्रो सूर्यविनायक’ नाम दिएर पाठ्यक्रम निर्माण गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पाठ्यक्रममा नगरपालिकाको भूगोल, जनसंख्या, प्राकृतिक सम्पदा, स्थानीय विभिन्न जातजाति, भेषभूषा, व्यक्तित्व र जनसंख्या, प्रमुख धार्मिक सम्पदाहरु, स्थानीय चाँडपर्व, स्थानीय बोलीचाली, स्थानीय बाजागाजा, नाच, स्थानीय लोक संस्कृति, धर्म, संस्कार, रहनसहन, कृषि, पर्यटन, पेशा, व्यवसाय, खेल, जडिबुटी, सडक, योग, हरित विद्यालयजस्ता विषयहरु पाठ्यक्रममा समावेश गरिएको छन् ।

आधारभूतसम्ममा स्थानीय विषयवस्तु र पहिचानलाई जानकारी दिदै चिनाउदै व्यवहारिक शिक्षाको रुपमा लैजाने र कक्षा ६ देखि कक्षा ८ सम्म स्थानीयमा रहेका पेशा, ज्ञान, सीप र प्रबिधिलाई जगेर्ना गर्दै हातमा सीप दिने गरि लैजाने लक्ष्य पाठ्यक्रमको रहेको कोइराला बताउनुहुन्छ ।

नगरपालिकाले सामुदायिक अनुसन्धान केन्द्रका उद्धवप्रसाद प्याकुरेलले पाठ्यक्रम निर्माणमा प्राबिधिक सहयोग गरेको छ । पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउनेबारेमा पाठ्यक्रम विकास केन्द्रका अधिकृत खिलानाथ धमलाले विद्यालयका प्रधानाध्यापक र सरोकारवाला निकायलाई जानकारी गराउनु भएको छ ।

स्थानीय तह सरकार सञ्चालन ऐन, २०७४ लागू भएपछि स्थानीय तहहरुले स्थानीय पाठ्यक्रम निर्माण र कार्यन्वयन गरेकाम हुन् । भक्तपुरका चार नगरपालिका मध्ये भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम ‘ख्वपःको पहिचान’ भाग(१ र २ प्रकाशन गरि कार्यान्वयनमा ल्याएको छ ।

पुस्तकमा ख्वपःको संस्कृति, सम्पदा, इतिहास, जीवनशैली, रैथाने व्यवसाय, सीप र प्रविधि, परम्परागत खेलहरू, वेशभूषा, भाषा र लिपि, पर्यटन, विभिन्न व्यक्तित्वहरूका बारेमा आधारभूत तथ्य र तथ्यांक समावेश गरिएको छ । नगरपालिकाले २०७५ मा कक्षा १ र ६ तथा त्यसपछि कक्षा २ र ७ का सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई स्थानीय पाठ्यक्रम लागू गरेको थियो ।

त्यसैगरी, चाँगुनारायण नगरपालिकाले कक्षा ६, ७ र ८ मा ‘हाम्रो चाँगुनारायण’ पाठ्यक्रम तयार गर्दै कार्यान्वयनमा ल्याइसकेको छ । पाठ्यक्रममा स्थानीय परम्परा, संस्कृति, रीतिरिवाज, सम्पदा, चाडपर्व, सामाजिक व्यवहार, पेसा/व्यवसाय, वातावरण संरक्षण, आर्थिक गतिविधि, स्थानीय प्रविधिलगायतका विषयवस्तु समेटिएको छ ।

मध्यपुर थिमि नगरपालिकाले पनि ‘मध्यपुर थिमि म्हसिका’ (मध्यपुर थिमि परिचय) नामक पाठ्यक्रम निर्माण गरि कार्यान्यनमा ल्याइसकेको छ । पाठ्यक्रममा परम्परागत शिक्षण विधि भन्दा सिकाइ केन्द्रित विधि अपनाउदै स्थानीय विषयवस्तुलाई समेटेर पाठ्यक्रम लागू गरेको हो । सूर्यविनायकले स्थानीय पाठ्यक्रम लागू गरेपछि जिल्लाका चारवटै पालिकामा स्थानीय पाठ्यक्रम लागू हुनेछ ।