भक्तपुर र चाँगुनारायणमा खुले विद्यालय, मध्यपुरथिमि र सूर्यविनायकमा तिहारपछि मात्रै अनुमति

-रमेश गिरी

भक्तपुर, १२ असोज । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण गत चैतदेखि बन्द विद्यालय धमाधम खुल्न थालेका छन् । जिल्लामा भक्तपुर र चाँगुनारायण नगरपालिकाका विद्यालयहरु भौतिक उपस्थितिमै सञ्चालन भएका छन् भने मध्यपुरथिमि र चाँगुनारायण नगरपालिका विद्यालय दशैँ तिहार पछि मात्रै सञ्चालनमा आउने भएका छन् ।

कोरोना भाइरस संक्रमण घटेको भन्दै लकडाउन हटाएर निषेधाज्ञा खुकुलो बनाएसँगै स्थानीय तहमा विद्यार्थीहरुको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन हुन थालेका छन् । भक्तपुर र चाँगुनारायण नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय खुल्न अनुमति दिएपछि यहाँका विद्यालयहरु असोज १ गतेदेखिनै विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालनमा आएका हुन् ।

सूर्यविनायक नगरपालिकाले भने दशैँ अगाडि भौतिक रुपमा परीक्षा सञ्चालनको अनुमित दिए पनि दशै पछि कक्षा ८ देखि १० सम्म र तिहार पछि सबै कक्षालाई भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने अनुमति दिने निर्णय गरेको छ । मध्यपुरथिमि नगरपालिकाले भने उपत्यकामा १८ वटा नगरपालिका मध्ये अन्तिममा मात्रंै विद्यालय खोल्न अनुमति दिने बताउदै आएको छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले अनुमति नदिए पनि लुकिलुकि भौतिक रुपमा विद्यालय सञ्चालन गर्न थाले पछि नगरपालिकाले विद्यालय सञ्चालन निर्देशिका जारी गरि स्वास्थ्य मापदण्ड कार्यान्वयनमा ल्याउदै विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न अनुमति दिएको बताउनुभयो ।

“नगरपालिका भित्र रहेका सबै निजी तथा सामुदायिक विद्यालयको विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई आवश्यक पर्ने मास्क, स्योनिटाइजर, हात धुने साबुन लगायतका सुरक्षा सामाग्री नगरपालिकालेनै वितरण गरेका छौँ, ज्वरो नाप्ने थर्मन गन यसअघि नै बाडिसकेका छौँ” नगर प्रमुख मिश्रले भन्नुभयो, “नगरपालिकाले स्वास्थ्य निर्देशिका र कार्यढाँचा जारी गरि विद्यालय सञ्चालन गर्न अनुमति दियौँ, विद्यालय खुलेका छन्, हामी बेला बेलामा अनुमगन पनि गर्छौँ ।”

सूर्यविनायक नगरपालिकाले तत्कालका लागि भौतिक रुपमा परीक्षा सञ्चालन गर्न अनुमति दिए पनि कक्षा सञ्चालन भने दशैँ पछि मात्रै अनुमति दिने भएको छ । सूर्यविनायक नपाका प्रमुख वासुदेव थापाले भन्नुभययो, “हामीले अहिले विद्यालय सञ्चालनको अनुमति दिएका छैनौँ, दशैँ पछि कक्षा ८, ९, र १० तथा तिहार पछि कात्तिक ७ गतेदेखि सबै कक्षालाई भौतिक रुपमा नै विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेका छौँ ।”

मध्यपुरथिमि नगरपालिकाले भने तिहार अगाडि विद्यालय सञ्चालनको अनुमति नदिने भएको छ । खोप लगाउन बाँकी १८ वर्ष मुनिको बालबालिका कोरोनाको उच्च जोखिममा रहेको भन्दै उहाँले बालबालिकामा कोरोना संक्रमण देखिन थालेकाले हतारिएर विद्यालय खोल्न अनुमति नदिने बताउनुभयो ।

उहाँले अनुमति नदिई विद्यालय सञ्चालन गरेको पाईए नगरपालिकाले कारबाही गर्छ भन्दै उपत्यकाका १८ पालिकामध्ये १७ वटाले सञ्चालनको अनुमति दिएपछि मात्रै मध्यपुरथिमिले अनुमति दिने जानकारी दिनुभयो । मध्यपुरथिमि नगर कसैको दबाब र प्रभावमा नचल्ने भन्दै उहाँले विद्यार्थी र विद्यालयले कक्षामा भौतिक दुरी कायम गर्छौँ भने पनि त्यसले काम नगर्ने र स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गराउन नसक्ने बताउनुभयो ।

नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “अधिकांश सरकारी विद्यालयका ८० प्रतिशत विद्यार्थी उपत्यका बाहिरका छन्, दशैँमा घर गएर फर्किदा निकै जोखिममा हुन्छन्, एक जना विद्यार्थीलाई मात्र कोरोना संक्रमण देखियो भने त्यसले विद्यालयमा कतिलाई सार्ला, संक्रमणले विद्यालयको एउटा विद्यार्थीको मात्रै ज्यान गयो भने के हुन्छ ?, बरु बच्चाका लागि खोप ल्याएर छिटो दिन सरकारलाई दबाब दिऔँ ।” दशैँ र तिहार पछि अबस्था हेरेर मात्रै विद्यालय सञ्चालनको अनुमति दिने बताउदै उहाँले मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा बच्चाका लागिसमेत भेन्टिलेटरसहितको आईसियू सञ्चालनमा ल्याएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख एवं शिक्षा समिति संयोजक रजनी जोशीले नगरपालिकाले विद्यालयका प्रिन्सिपल, अभिभावक, शिक्षक, विद्यार्थी लगायत सरोकारवाला निकायसँग छलफल गरेर विद्यालय सञ्चालनको अनुमति दिएको बताउनुभयो । विद्यालय भौतिक रुपमा सञ्चालन गर्नु जोखिम भएपनि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्छौ भनेर विद्यालय सञ्चालकले भनेको र विद्यार्थीले पनि विद्यालयमै गएर पढ्छौँ भने पछि विद्यालय सञ्चालनको अनमुति दिएको उहाँको भनाइ छ ।

उपप्रमुख जोशीले भन्नुभयो, “विद्यालयहरुले भौतिक रुपमा परीक्षा सञ्चालन र पढाई सञ्चालन गरिरहेका छन्, हामीले रोकेका छैनौँ, विद्यार्थी पनि स्कुल जान आतुर छन्, अभिभावकले पनि अनलाइन कक्षा प्रभावकारी नभएपनि पुरै शुल्क तिर्नु पर्ने, अनलाइन कक्षाका लागि कामै छाडेर एकजना घरमा बस्नु पर्ने समस्या आयो भन्दै गुनासो गरेपछि अनुमति दियौँ ।”

बैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएपनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गतचैत्र पहिलो सातानै नयाँ शैक्षिक सत्रको भर्ना नलिन आग्रह गरेको थियो । जेठ १८ गते बन्द विद्यालयको नियमित पठनपाठन सूचारु गर्न मन्त्रालयले बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजिकरण निर्देशिका २०७७ जारी गर्दै असार १ गतेदेखि शैक्षिक शत्र गणना गरि विद्यार्थी भर्ना गर्न र बैकल्पिक सिकाई सञ्चालन गर्न अनुमति दिएको थियो ।