स्थानीय पाठ्यक्रम निर्माणमा कार्यशाला, अब कक्षाकोठामै गाउँबारे जान्न पाइने
भक्तपुर, १३ असोज । भौतिक रुपमा कात्तिकदेखि शुरु हुने विद्यालयको पठन पाठनमा सूर्यविनायक नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुले स्थानीय पाठ्यक्रम पढ्न पाउने भएका छन् ।
आज सूर्यविनायक नगरपालिका स्थानीय पाठ्यक्रम निर्माण तथा सहजीकरण समितिले यहाँ आयोजना गरेको स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशालामा बोल्दै नगर प्रमुख वासुदेव थापाले कात्तिकदेखिनै सूर्यविनायक नगरक्षेत्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू हुने बताउनु भयो ।
उहाँले सूर्यविनायक नगरपालिकाको पहिचानलाई विद्यालय तहदेखिनै जानकारी गराउने उदेश्यले नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्न लागेको बताउदै भन्नुभयो, “हाम्रा छोराछोरी र विद्यार्थीलाई विदेशका कुरा थाहा हुने अनि आफ्नै गाउँ ठाउँको कुरा थाहा नहुने, यो कस्तो प्रबृत्तिको विकास भयो ? अब स्थानीय पाठ्यक्रमले बालबालिकालाई आफ्नो गाउँ ठाउँको पहिचानलाई चिनाउने छ ।”

आफ्नो गाउँका जनसंख्या कति छ, पर्यटकीय क्षेत्र, सम्पदा, धार्मिक मठ मन्दिर, प्रमुख व्यक्तित्वहरु, जातजाति, धर्म, संस्कृति, जात्रा पर्व के के थिए, के के छन्, मुख्य पेशा, व्यबसाय के हुन्, मुख्य उत्पादन हुने अन्तबाली के हो, पशुपालन, कषि, सडक, खेलजस्ता सबै पक्षलाई व्यबहारिक रुपमा जानकारी गराउने गरि पाठ्यक्रमलाई अन्तिम रुप दिएर तिहार लगत्तै सबै विद्यालयमा कार्यान्वयनमा ल्याउने नगर प्रमुख थापाले बताउनुभयो ।
उहाँले कार्यशालामा सहभागि प्रत्येक वडाका जनप्रतिनिधी, संस्थागत तथा सामुदायिक विद्यालयका प्रिन्सिपल, शिक्षक, शिक्षिकालगायत सरोकारवालालाई स्थानीय पाठ्यक्रममा राख्नै पर्ने कुनै पनि विषय नछुट्ने गरि अन्तिम रुप दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नपाका उपप्रमुख जुना बस्नेतले स्थानीय विद्यार्थीले स्थानीय विषयलाई जान्ने र बुझने अवसर नपाउँदा महत्वपूर्ण कुराहरु पनि ओझेलमा पर्दै जाने र अन्तिममा लोपोन्मुख अबस्थामा पुग्ने भएकाले आफ्ना ठाउँको महत्वलाई सधै जिवित राख्न स्थानीय पाठ्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

त्यसअवसरमा स्थानीय पाठ्यक्रम निर्माण तथा सहजीकरण समितिका संयोजक, नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ८ का वडाध्यक्ष किरण थापाले आजको कार्यशालाले पाठ्यक्रमलाई अन्तिम रुप दिएर एक महिनाभित्र पठन पाठनमा ल्याइने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिलेका विद्यार्थीलाई चामल कसरी फल्छ भन्यो भने बोराबाट आउँछ भन्छन्, दूध कसरी आउँछ भन्यो भने पोकाबाट आउँछ भन्छन्, पहिलाको ढिँकी, जातो, पानी घट्ट, ओखलकाबारेमा केही थाहा छैन, स्थानीय पाठ्यक्रमले अब सबै कुरा सिकाउँछ ।”
चालू शैक्षिक शत्रमा कक्षा १ देखि ५ सम्म र आगामी शैक्षिक शत्रमा कक्षा ६ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने गरि पाठ्यक्रम निर्माण भएको र त्यसलाई सुझाबसहित अन्तिम रुप दिन कार्यशालाले भूमिका निर्वाह गर्छ भन्दै उहाँले दशै पछि कक्षा सञ्चालन हुँदा विद्यार्थीले स्थानीय पाठ्यक्रम पढ्न पाउने बताउनुभयो ।
नगरपालिकाको स्थानीय पाठ्यक्रम निर्माणमा प्राबिधिक सहयोग गर्नुभएका बिज्ञ उद्धवप्रसाद प्याकुरेलले पाठ्यक्रममा नगरपालिकाको भूगोल, जनसंख्या, प्राकृतिक सम्पदा, स्थानीय जातजाति, भेषभूषा, धर्म, कला, संस्कृति, जात्रा पर्व, प्रमुख व्यक्तित्व, जनसंख्या, स्थानीय चाँडपर्व, , स्थानीय बाजागाजा, नाच, स्थानीय लोक संस्कृति, संस्कार, रहनसहन, कृषि, पर्यटन, पेशा, व्यवसाय, खेल, जडिबुटी, सडक, योग, हरितलगायतका १४ वटा विषयहरु पाठ्यक्रममा समावेश गरिएको बताउनुभयो ।
पाठ्यक्रम विकास केन्द्रका अधिकृत खिलानाथ धमलाले पाठ्यक्रम निर्माणमा अन्तिम दिन सहजीकरण गर्दै स्थानीय विद्यालयले पाठ्यक्रम कार्यान्वयनमा ल्याउने भएकाले विद्यालय जिम्मेवार भएर सुझाब दिनु पर्ने बताउनुभयो । उहाँले पाठ्यक्रमका सम्पूर्ण स्वरुपकोबारेमा जानकारी गराउदै सुझाब संकलन गर्नुभयो ।
सूर्यविनायक नगरपालिका शिक्षा शाखाका अधिकृत सरस्वती कोइरालाले समितिले सरोकारवाला निकायसँग पटक पटकका प्रतक्ष्य तथा जुम बैठक र छलफलबाट पाठ्यक्रम तयार पारेको बताउदै कुनैपनि विषय नछुटोस भनेर पाठ्यक्रमलाई आजसम्ममा अन्तिम रुप दिइने बताउनुभयो ।





