विद्यालयमा अक्षयकोष स्थापना

तनहुँ, १३ असोज  : तनहुँको व्यासनगरपालिका–१ निवासी दुई दाजुभाइले आफै पढेको विद्यालयमा आमाको ४५औँ पुण्यतिथिको अवसरमा अक्षयकोष स्थापना गरेका छन् । छोरा टुकप्रसाद दाहाल र चूँडामणिले आमा दमयन्ती दाहालको ४५औँ पुण्यतिथिको अवसरमा मङ्गलबार निर्मल माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । बुबा गिरीधारी र आमा दमयन्तीको स्मृतिमा गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको हो ।

निर्मल माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तमबहादुर दरै, प्रधानाध्यापक गणेशचन्द्र बस्नेतलगायतलाई एक लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको चेक दाहाल दाजुभाइले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो । आफू र दाजु सोही विद्यालयमा पढेको र केही समय सोही विद्यालयमा पढाउने अवसर मिलेको चूडामणिले बताउनुभयो । आमाको स्मृतिमाको अवसरमा केही दान गरौंँ भन्ने भावनाअनुरुप दुवै दाजुभाइको सल्लाहले उक्त विद्यालयमा अक्षयकोष स्थापना गरिएको उहाँले बताउनुभयो ।

आर्थिक अभावका कारण हामीले जस्तै दुख पाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शिक्षा हासिल गर्न केही राहत पुग्ने विश्वास गरी अक्षयकोष स्थापना गरिएको उहाँले बताउनुभयो । अक्षयकोषका लागि रकम आवश्यक परे अझै थपेर उक्त कोषबाट आएको ब्याजबाट वार्षिक रुपमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी कोष स्थापना गरेको उहाँको भनाइ थियो । विद्यालयले एक किसिमको कार्यविधि बनाएर विद्यार्थीको मूल्याङ्कन गरी गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक बस्नेतले जानकारी दिनुभयो ।