शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लान्तर शिक्षक सरुवा रोक्का

काठमाडौं, १३ असोज । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लान्तर शिक्षक सरुवा रोक्का गरिएको जनाएको छ। केन्द्रले शिक्षक सेवा आयोगले गर्ने विज्ञापनको प्रयोजनका लागि जिल्लान्तर शिक्षक सरुवा रोक्का गरिएको जनाएको हो। केन्द्रले शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि २०७८ साल चैत मसान्तसम्ममा रिक्त हुने सबै खुला र बढुवातर्फको शिक्षकहरुको दरबन्दीको विवरण आयोगलाई यस अघि नै पठाइसकेको छ।

आयोगबाट शिक्षक छनोट भइ सिफारिस भएका शिक्षकहरुलाई जिल्लाबाट माग अनुसार नै नियुक्ति व्यवस्थापन गर्नुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि कुनै प्रकारको जिल्लान्तर सरुवा नगर्न नगराउन केन्द्रले शिक्षा विकास तथा समन्वय एकाईलाई निर्देशन दिएको हो।

केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले आयोगमा विज्ञापनका लागि रिक्त पद संख्या पठाइ सकिएकाले सरुवा रोक्का गर्नुपरेको जानकारी दिए। केन्द्रले दरबन्दी मिलानका क्रममा खुद पुल दरबन्दी भएको स्थानीय तहमा दरबन्दी थप गर्नुपर्ने भएमा मात्र सरुवा गर्नसक्ने जनाएको छ।