नक्कली शैक्षिक प्रमाणपत्र बुझाएको भन्र्दै डिभी परेका तीन पक्राउ
काठमाडौं, १३ असोज । इडिभी भिसाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा काठमाडौंले मंगलबार तीन जनालाई पक्राउ गरेको हो। चितवन घर भई काठमाडौंको कलंकी बस्ने ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनीका ३१ वर्षीय नविन दराई र रौतहट घर भई कोटेश्वर बस्ने ३२ वर्षीय शिव रोक्कालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार सन् २०२१ को इडिभीमा उनीहरूको नाम निस्किएको थियो। तर भिसा प्रक्रियाको लागि आवश्यक कक्षा १२ को शैक्षिक योग्यता थिएन। त्यसको लागि उनीहरूले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको भन्ने सूचना प्रहरीले पाएको थियो। सोही सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई महाराजगन्जबाट पक्राउ गरेको हो।
अनुसन्धानको क्रममा पक्राउ परेकामध्ये नविन दराईबाट एक लाख ७० हजार रूपैयाँ लिएर जीवन कार्कीले प्रमाणपत्र बनाएको खुलेको प्रहरीले जनाएको छ। थप अनुसन्धानको लागि उनीहरूलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा बुझाइएको छ।





