चाँगुनारायण नमूनाको रुपमा सरकारले लागू गर्यो कक्षा १ देखि ३ सम्म स्वाध्याय सामग्री मेरो गणित
-रमेश गिरी
भक्तपुर, २१ असोज । नेपाल सरकारले जाइकासँगको साझेदारीमा प्रारम्भिक कक्षाको रुपमा रहेको १, २ र ३ कक्षाका विद्यार्थीको गणित विषयको शिक्षालाई गुणस्तरीय बनाउन ल्याएको परियोजना भक्तपुरमा कार्यान्वयनमा आएको छ । देशको आधारभूत शिक्षाको गुणस्तर सुधार गर्नका लागि शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालय तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) बिच १५ नोभेम्बर २०१८ मा भएको सम्झौता अनुसार १०१९ देखि २०२४ सम्म पाँच वर्षका लागि सञ्चालन गर्ने भनिएको परियोजना भक्तपुरको चाँगुनारायणमा यसवर्षदेखि लागू भएको हो ।

नेपाल सरकार र जाइका बिच नेपालका विद्यालयका शैक्षिक गुणस्तरमा सुधार गर्ने परियोजना अर्थात project of improving the quality of school education in nepal नामक यो परियोजना नेपालको चार जिल्लामा नमूना कार्यक्रमको रुपमा सञ्चालनमा आएको छ ।
यो परियोजना भक्तपुरको चाँगुनारायण नगरपालिकामा लागू भएपछि परियोजनाले कक्षा १, २ र ३ को ‘स्वाध्याय सामग्री मेरे गणित’ नामक पुस्तक प्रकाशन गरि यहाँका ३४ वटा सामुदायीक विद्यालयलाई १ हजार ५ सय ४२ विद्यार्थीका लागि वितरण गरेको छ ।
परियोजनाको जिल्ला कार्यक्रम अधिकृत लक्ष्मी पाण्डेले परियोजना अन्तर्गत पाठ्य पुस्तक प्रकाशन गरि नगरपालिकाका ३४ वटा विद्यालयका प्रिन्सिपललाई बुधबार हस्तान्तरण गरेको र विद्यालयले १ हजार ५ सय ४२ विद्यार्थीलाई हातहातमा पुस्तक पुर्याएको जानकारी दिनुभयो ।

कक्षा १ देखि ३ सम्मको विद्यार्थीहरुको गणित विषयमा गुणस्तरमा सुधार ल्याउन गणित विषयको आधारभूत दक्षता (Foundational Mathematics Proficiency) हासिल गर्न यसको पाठ्यक्रम तथा पाठ्य सामाग्री पाठ्यक्रम विकास केन्द्रले तयार पारेर कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीहरुले विद्यालयमा मात्र नभई घरमा अभिभावकको सहयोगमा गणित सिक्नु आवश्यक ठान्दै यो पाठ्यपुस्तक प्रकाशन गरी विद्यालयमा कार्यान्वयनमा ल्याएको हो ।
सरकारले नमूनाको रुपमा यो परियोजना भक्तपुर चाँगुनारायण नगरपालिका, तनहुको बन्दीपुर गाउँपालिका, महोत्तरीको पिपरा गाउँपालिका र जुम्लाको तातोपानी गाउँपालिकामा लागू गरिएको हो । पुस्तक भित्र शिक्षकले गर्नुपर्ने भूमिका, अभिभावकले गर्नु पर्ने भूमिका, उदाहरणसहितको अभ्यासहरु, आमाबुबा तथा अभिभावक र शिक्षकहरुको पुष्ठपोषणसहितको फारामसहित कक्षागत पाठ्यपुस्तक भित्रै रहेका बिभिन्न विषयलाई समेटेदिएको छ । कार्यक्रम अधिकृत पाण्डेले बालबालिकाप्रति अभिभावकलाई समेत जिम्मेवार बनाउने गरि एकिकृत पाठ्यक्रममा आधारित रहेर पाठ्यपुस्तक तयार पारिएको जानकारी दिनुभयो ।

परियोजनाका प्रतिनिधी विष्णु आचार्यले कोभिड–१९ ले पठनपाठनमा पारेको प्रभावलाई घटाउने र सिकाईमा उपलब्धी दिने गरि शिक्षा निर्देशिका अनुसारनै एकिकृत पाठ्यक्रममा आधारित रहेर पाठ्यपुस्तक तयार पारिएको जानकारी दिनुभयो । यसले विद्यार्थीलाई घरमै बसेर पनि पढने बानी बसाल्नुका साथै किताब हातमा परेपछि विद्यार्थी त्यसमै भुल्ने गरि सचित्र पुस्तक तयार पारिएको बताउनुभयो । परियोजनामा गणित कसरी पढाउने भनेर पाँच दिनको शिक्षकलाई तालिम दिने योजना रहेको जानकारी दिनुभयो ।
यसबारेमा शिक्षा विकास तथा समन्वय इकाइ भक्तपुरका प्रमुख रमेशप्रसाद मैनालीले सिकाइलाई उपलक्धीमूलक व्यबहारमा लैजान यो अत्यन्तै उपयोगी हुने जानकारी दिनुभयो । सरकारको नमूनाको कार्यक्रम भएकाले यहाँ सफल भयो भने देशको ७७ वटै जिल्लाका सामुदायिक विद्यालयमा लागू हुने भन्दै यसको प्रभावकारितालाई बढाबा दिनु पर्ने औल्याउनुभयो ।

चाँगुनारायण नगरपालिका शिक्षा शाखाका प्रमुख बिरबहादुर खड्काले नयाँ स्वरुपमा नेपालमै पहिलो पटक लागू भएको गणित शिक्षाको विकासमा यो कोशेढुङा सावित हुने दाबी गर्नुभयो । नेपालको शिक्षामा गणित विषयमा धेरै विद्यार्थी कमजोर भएको अबस्थामा ल्याइएको स्वाध्याय सामग्रीलाई शिक्षक र अभिभावक जिम्मेवार बन्न सके नमूना परियोजनाले सफलता हात पार्ने बताउनुभयो ।

चानपा शिक्षा शाखाकी मिरा तिमिल्सिनाले विद्यालयको प्रिन्सिपल मार्फत पठाएको पाठ्यपुस्तक दशै अगाडिनै विद्यार्थीको हातहातमा पुर्याएर दशैँको विदामा समेत सिकाइ उपलब्धी हासिल गर्न सक्ने गरि व्यबस्था गरिएको जानकारी दिनुभयो । परियोजनाले गणित विषयको पाठ्यक्रम तथा पाठ्यसामाग्री तयारीमा पाठ्यक्रम विकास केन्द्र तथा शिक्षक पेशागत विकास, प्रधानाध्यापकको नेतृत्व क्षमता विकास तालिम, स्थानीय शिक्षा योजना तयारी तथा गणित शिक्षाको प्रबद्र्धनका लागि स्थानीय निकायको क्षमता अभिबृद्धि कार्यक्रमहरु सञ्चालनमा शिक्षा तथा मानव श्रोत विकास गर्दै आएको छ ।








