अब कक्षा ८ सम्मका विद्यार्थीको हातहातमा रंगीन पाठयपुस्तक
काठमाडौं । सामुदायीक विद्यालयमा अध्ययन गर्ने एक शिक्षकले ३ कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई लालिगुराँसको रंग कस्तो हुन्छ भनेर सोध्दा विद्यार्थीले “कालो हुन्छ” भनेर उत्तर दिए । अनि स्याऊ र सुन्तलाको रंग कस्तो हुन्छ भनेर सोध्दा त्यो पनि कालै हुन्छ भनेर जवाफ दिए । त्यति मात्रै हैन, नेपालको झण्डा कस्तो हुन्छ भन्दा त्यो पनि कालै हुन्छ भनेर जवाफ दिए । चारवर्ष अघिसम्म सामुदायीक विद्यालयका ती कलिला विद्यार्थीले पुस्तकमा जे देखे, त्यही भन्थे । किनभने श्यामश्वेत पुस्तकमा उनीहरुले लालिगुराँसदेखि नेपालको झण्डा समेत कालै देखेका थिए ।
सानो कक्षामा अध्ययन गर्ने विद्यार्थीमा पुस्तकमा जे छ, त्यही सत्य हो भन्ने मनोवैज्ञानिक प्रभाव हुन्छ । कक्षामा शिक्षकले कालो रंगको लालिगुराँसलाई वास्तवमा रातो हुन्छ भने पनि त्यो तहका बालबालिकाको दिमागले चित्रलाई बढी विश्वास गर्छ । त्यसैलाई मध्यनजर गर्दै पढाईको गुणस्तर बृद्धि गर्ने उदेश्यले बालबालिकाको सिकाइ मनोविज्ञानका आधारमा पुस्तक छाप्न सुरु गरेको सरकारले यसवर्ष कक्षा ८ सम्म रंगिन पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्याउने भएको छ । चार वर्षअघि कक्षा १–३ र दुई वर्षअघि ४ र ५ को पाठ्यपुस्तक रंगीनमा छपाइ गरेको थियो । यो वर्ष ६–८ सम्म गरी तीनवटा कक्षाका पुस्तक रंगीन छाप्न लागिएको हो ।
लालिगुराँसको रंग कस्तो हुन्छ भनेर सोध्दा विद्यार्थीले “कालो हुन्छ” भनेर उत्तर दिए । अनि स्याऊ र सुन्तलाको रंग कस्तो हुन्छ भनेर सोध्दा त्यो पनि कालै हुन्छ भनेर जवाफ दिए । त्यति मात्रै हैन, नेपालको झण्डा कस्तो हुन्छ भन्दा त्यो पनि कालै हुन्छ भनेर जवाफ दिए । चारवर्ष अघिसम्म सामुदायीक विद्यालयका ती कलिला विद्यार्थीले पुस्तकमा जे देखे, त्यही भन्थे ।
सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा कक्षा ६ देखि ८ सम्मको पाठ्यपुस्तक रंगीन छाप्ने उल्लेख गरेको थियो । सरकारले आधारभूत तहको पाठ्यपुस्तकको गुणस्तर वृद्धि गरी रंगीन पाठ्यपुस्तक छपाइ गर्न दिएको निर्देशनबमोजिम “उड फ्रि” कागजमा रंगीन पाठ्यपुस्तक
छपाइ भइरहेको छ । केन्द्रले हाल दुई सत्रमा मेसिन सञ्चालन गरी कक्षा ६, ७ र ८ को पाठ्यपुस्तक ैनिक एक लाख थानभन्दा बढी संख्यामा छपाइ गरिरहेको केन्द्रका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले ती कक्षाका पाठ्यपुस्तकको “सिआरपी” पाठ्यक्रम विकास केन्द्रबाट प्राप्त भएकाले आउँदो चैत २० गतेभित्र छपाइ सकाएर चैत मसान्तभित्र विक्री वितरणका लागि पठाइसक्ने गरी कार्य गरिरहेको बताउनुभयो । जनक शिक्षाले शैक्षिक सत्र २०७७ का लागि आउँदो चैत मसान्तभित्र पाठ्यपुस्तक छपाइ गरी विक्री वितरण गरिसक्ने उहाँको भनाई छ । केन्द्रले आगामी शैक्षिक सत्रका लागि कक्षा २ देखि ४ सम्मका एक करोड ७५ लाख पाँच हजार ८०० थान पाठ्यपुस्तक छपाइ सकेको छ । कक्षा ५ देखि १० सम्मका दुई करोड ७२ लाख तीन हजार ४१४ थान पाठ्यपुस्तक छपाइ सकेको उहाको भनाई छ । केन्द्रका प्रवक्ता चित्र आचार्यले पाठ्यपुस्तक भण्डारण गर्न थप नौ गोदाम बनाइएको र रु १५ करोडको अत्याधुनिक चार रंगको ३२ पेज छपाइ गर्ने दुई वेभ मेसिन र एक चार रंगको छपाइ गर्ने जापानी मेसिन खरिद गरेको जानकारी दिनुभयो ।
उक्त मेसिनले द्रुत गतिमा छपाइ गरिरहेको जनाइएको छ । आगामी शैक्षिक सत्र २०७७ का लागि आवश्यक पर्ने पाठयपुस्तकमध्ये कक्षा २ देखि ५ सम्म र कक्षा ९ र १० का पाठ्यपुस्तक छपाइ गरी विक्री वितरणका लागि केन्द्रका नौ कार्यालयका गोदाममा भण्डारण गरिएको प्रवक्ता आचार्यले जानकारी दिनुभयो । सरकारले माध्यमिक तहसम्मको पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने दायित्वअन्तर्गत त्यसको रकम सम्बन्धित स्थानीय तहमा निकासा गर्छ भने पाठ्यपुस्तक उत्पादन र वितरणका लागि जनक शिक्षा सामग्री केन्द्र तथा निजी क्षेत्रका मुद्रणलाई जिम्मेवारी दिइएको छ ।
कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक यसअघि नै रंगीन छापिन थालेका थिए । मूलुकभर आगामी शैक्षिक सत्रमा २ करोड पाठ्यपुस्तक आवश्यक पर्ने उहाँको भनाई छ । अंग्रेजी माध्यमका कक्षा एक देखि ४ सम्मको पाठ्यपुस्तक छपाईको जिम्मा भने नीजि क्षेत्रलाई दिइएको उहाँले बताउनुभयो । कक्षा ५ देखि १० सम्मको अंग्रेजी माध्यमको पाठ्यपुस्तक र कक्षा ६, ७ र ८ का रंगीन पाठ्यपुस्तक केन्द्रले छापेको छ । योसंगै कक्षा १ देखि ८ सम्मका विद्यार्थीले अब रंगीन पाठ्यपुस्तक पढ्न पाउने भएका छन् । कक्षा ५ देखि १० सम्मको अंग्रेजी माध्यमको पाठ्यपुस्तक भने केन्द्रले नै छापी रहेको उहाँले बताउनुभयो । यसपटक केन्द्रले अंग्रेजी माध्यमका २० हजार सेट पाठ्यपुस्तक छापेको छ । कक्षा ९ र १० को ९ वटा विषय, कक्षा ६, ७ र ८ को ९ र कक्षा ५ को ५ वटा विषयको अंग्रेजी माध्यममा पाठ्यपुस्तक छापेको उहाँको भनाई छ । पाठ्यपुस्तक छपाईका लागि मात्रै सरकारले यस पटक २ अर्ब २१ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । यसैबीच फागुनमा शैक्षिक सत्र शूरु हुने कर्णाली प्रदेशका जिल्लाहरुका लागि पाठ्यपुस्तक पठाइसकेको पनि उहाँले जानकारी दिनुभयो ।
कक्षा ६, ७ र ८ बाहेक अन्य पाठ्यपुस्तक पठाइसकिएको उहाँको भनाई थियो । बाँकी पुस्तक रंगीन छाप्नुपर्ने भएकाले अबको एक महिना भित्रमा पठाइसक्ने उहाँले बताउनुभयो । कक्षा ९ र १० को पुस्तक भने एकै रङमा छापिनेछ । जनक शिक्षाले आगामी शैक्षिक सत्रमा सबै पाठ्यपुस्तक उडफ्री कागज प्रयोग गर्ने भएको छ । अन्य कागजको तुलनामा सफा र धूलोरहित हुने भएकाले पहिलोपटक उडफ्री कागज प्रयोग गर्न लागेको हो । ६–८ कक्षाको पुस्तक रंगीन हुने भएपछि शैक्षिकसत्र २०७६ मा बिक्री गरी बाँकी भएका करिब ६ लाख पुस्तक कवाडीको भाउमा बिक्री हुने भएको छ ।





