सीटीईभीटीमा शिक्षा मन्त्री पौडेलको निरीक्षण, तल्लो तहसम्म प्रभावकारी हुने गरि काम गर्न निर्देशन

-रमेश गिरी

भक्तपुर, ४ कात्तिक : शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलले आज सानोठिमीस्थित प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)को अवलोकन गर्नु भएको छ । सीटीईभीटीका अध्यक्ष समेत रहनु भएका मन्त्री पौडेलले अवलोकन पछि आयोजित कार्यक्रममा बोल्दै कुनै पनि दलका नेता, सांसद वा कसैको पनि दबाबमा नभई आवश्यकताका आधारमा सम्बन्धन दिन निर्देशन दिनुभयो ।

“कुर्सीमा मात्रै बस्ने होइन, संस्था सुधार्ने काम गर्नुहोस्, सीटीईभीटीको नामै काफी छ भन्ने अबस्था बनाउनु होस्, सबै तल्लो तहसम्म प्रभावकारी हुने गरि काम गर्नुहोस्” शिक्षा मन्त्री पौडेलले भन्नुभयो, “यहाँ आएका प्रबिधिको प्रयोग प्रभावकारी रुपमा गर्नुहोस्, यसलाई राम्रो ज्ञान केन्द्रको रुपमा लैजाऔँ, यसको थप क्षमता विकास गरेर जाऔँ ।”

कर्मचारीका शुत्रका रुपमा रहेका अल्छिपना, उदासिनता, लापर्वाही र भ्रष्टाचारलाई सबैले त्याग्नु पर्छ भन्दै उहाँले आफ्नोबारेमा सोच्ने तर संस्थाकोबारेमा नसोच्ने प्रबृत्ति हटाएर भ्रष्टाचारको सोच कतै नराख्न निर्देशन दिनुभयो । ज्ञानलाई तालिमसँग, तालिमलाई उत्पादनसँग जोडेल लैजानु पर्ने औल्याउदै उहाँले मौलिक हकका रुपमा रहेको रोजगारीसँग जोडेर सीप र ज्ञानलाई अगाडि लैजान निर्देशन दिनुभयो ।

उत्पादनसँग जनशक्तिलाई जोडेर समाजवादतर्फ जानु पर्छ भन्दै उहाँले सीटीईभीटी अब आफै आत्मनिर्भर बन्नु पर्नेमा जोड दिनुभयो । उहाँले सिक, कमाऊँ, तिर भन्ने अबधारणा तर्फ जानु पर्ने औल्याउनुभयो । रोजगारीको खोजी गर्दै सीप खोज्न आउने किसान, श्रमिक, गरिब, उत्पिडित लक्षित जनसमुदायनै हुन् भन्दै उहाँले सीप खोज्न आउनेलाई रोजगारीमा आधारित ज्ञान र सीप दिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, “उत्पादन, रोजगार र ज्ञानको केन्द्रको रुपमा अरुलाई योग्य जनशक्ति दिने गरि सीटीईभीटी अगाडि बढ्नु पर्छ, एक अर्कालाई समन्वय गरेर प्रतिस्पर्धा गरेर अन्तर समन्वय गर्दै अब ‘सिक, गर, कमाऊ र आत्मानिर्भर होऔँ’, भन्ने नारा सीटीईभीटीले दिनुपर्छ ।” सीटीईभीटीको पाठ्यक्रमलाई सुधार गर्ने, यहाँका चुनौतीको सामना गर्दै सबै समस्यालाई एक एक गरि हल गर्दै जाने उहाँले बताउनुभयो ।

कार्यक्रममा शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादवले देशभरका सामुदायिक विद्यालयमा अनिवार्य रुपमा प्राबिधिक शिक्षा सञ्चालन गर्नु आवश्यक रहेको भन्दै विद्यालय र जिल्लाहरुबाट यसको माग पनि भइरहेको बताउनुभयो । उहाँले प्राबिधिक शिक्षा जनमुखी, बहुमुखी र आर्थिकमुखी हुनु आवश्यक रहेको बताउदै गाउँ गाउँमा स्वास्थ्य शिक्षाका कार्यक्रमहरु माग भइरहेकाले सीटीईभीटीले माग र आवश्यकताका आधारमा अनुमति दिनुपर्नेमा जोड दिनुभयो ।

राज्यमन्त्री यादवले भन्नुभयो, “कार्यक्रम चलाउन अनुमति दिने तर सञ्चालन नहुने गरि कसरी कार्यक्रम स्वीकृत भयो ?, कृषिको कार्यक्रम सञ्चालन गर्न दिएको ठाउँमा जमिननै छैन, कम्प्युटर प्राबिधिकको अनुमति दिएको ठाउँमा प्रशिक्षकनै छैन, यो कसरी हुन्छ ।”

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया सीटीईभीटीले अहिले २०५२ सालकै १४ वटा स्कुलको जनशक्तिको भरमा अहिलेको ६२ वटा स्कुल चलाउनु पर्ने बाध्यता रहेको भन्दै जनशक्ति थप गर्नु आवश्यक रहेको औल्याउनु भयो । सरकारको राष्ट्रिय शिक्षा नीतिमा ७० प्रतिशत विद्यार्थीलाई प्राबिधिक शिक्षाको पहुँच पुर्याउने भन्ने लक्ष्य रहेको चर्चा गर्दै उहाँले सीप सिक्न चाहनेलाई राज्यले दिगो रहने गरि लगानी गर्नुपर्ने बताउनुभयो ।

सीटीईभीटीलाई अझै सुधार गरेर लैजानुको बिकल्प नभएको भन्दै उहाँले यहाँको विषय र पाठ्यक्रममा पनि सुधार गर्दै जानु पर्नेमा जोड दिनुभयो । सीटीईभीटी अन्तर्गत रहने गरि आंगिक क्याम्पसको माग अत्याधिक बढेको भन्दै उहाँले त्यसका लागि जनशक्तिसहित तयारी गर्नु आवश्यक रहेको औल्याउनुभयो ।

सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारीले मन्त्रीले भनेजस्तै सीप सिक, कमाउ र तिर भन्ने अबधारणामा जान लागेको बताउदै राज्यको आकांक्षालाई परिणाम दिने अबधारणा सीटीईभीटीले अगाडि बढाएको बताउनुभयो । कर्मचारी अभावले ज्यादै पिरोलिएको बताउदै उहाँले भन्नुभयो, “दरबन्दी असाध्यै खड्किएको छ, छिटै कर्मचारीको पदपूर्ती आवश्यक छ, जाडोमा ओढेको छोटो सिरक जस्तो कर्मचारीलाई एकातिर लग्यो, अर्को तिर पुग्दैन ।”

सीटीईभीटीका सदस्य सचिव जीवनारायण काफ्लेले कर्मचारी अभावले निकै समस्या पारेको बताउदै २०५२ सालको ९३२ दरबन्दी मध्ये ४०० जना स्थायी र १७ सय करार तथा ज्यालादारी कर्मचारको भरमा देशभरका आगिंक संस्था सञ्चालन गरिरहेको बताउनुभयो । कतिपयको कर्मचारीको उमेर हद नाघेकोले समस्या भइरहेको भन्दै उहाँले अझै १ हजार दरबन्दी थप आवश्यक रहेको बताउनुभयो ।

सीटीईभीटीको समग्र अबस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै उहाँले दरबन्दीमा पनि धेरै रिक्त रहेको भन्दै कर्मचारी अभावले काम गर्न गाह्रो भएको बताउनुभयो । सीटीईभीटीले बिभिन्न शिर्षकमा आठ हजारलाई निःशुल्क छात्रबृत्ति दिदै आएको बताउदै अहिलसम्म चार लाख ६ हजारलाई सीप परीक्षणको प्रमाणपत्र प्रदान गरेको जानकारी दिनुभयो । सीटीईभीटीको चालू आ.ब.मा ६ अर्ब ११ करोड बजेट रहेको बताउदै कूल बजेटमा २० प्रतिशत केन्द्रमा र ८० प्रतिशत प्रदेशमा बजेट जाने गरेको उहाँले बताउनुभयो ।

अझै ११८ वटा स्थानीय तहमा अझै प्राबिधिक शिक्षा पुर्याउन बाँकी रहेको बताउदै सदस्य सचिव काफ्लेले भन्नुभयो, “ह्वात्तै प्राबिधिक शिक्षा बिस्तार गर्दा त्यसले गुणस्तरीयता दिन नसक्दा प्रश्न चिन्ह खडा भएको छ, कतै कार्यक्रमनै शुरु हुन सकेन, कतिपय वडा वडामा रहेको प्राबिधिक विद्यालयलाई मर्ज गरेर गुणस्तरीयता ल्याउनु आवश्यक छ ।” कार्यक्रममा शिक्षा मन्त्री पौडेलले सीटीईभीटीले सञ्चालन गरेको बिभिन्न कार्यक्रम र प्रबिधिको अवलोकन गर्नु भएको थियो ।