आयोग र केन्द्रका कर्मचारीलाई मन्त्री पौडेलको निर्देशन “एक सयदिन भित्र नतिजा आउने गरि काम गर्नुस्”

-रमेश गिरी
भक्तपुर, ५ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतका कर्मचारीले अबको एक सय दिनका नतिजा आउने गरि काम गर्न निर्देशन दिनु भएको छ । मन्त्री पौडेल, राज्यमन्त्री बोधमाया कुमारी यादव र शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया सहितको टोलीले आज सानोठिमीस्थित चिकित्सा शिक्षा आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निरीक्षण एवं अवलोकन पछि कर्मचारीलाई यस्तो निर्देशन दिनु भएको हो ।

मन्त्री पौडेलले भन्नुभयो, “कर्मचारीले आफ्नो दायित्व र जिम्मेवारी पुरा गर्न पछि पर्नु हुदैन, कर्मचारीले अल्छिपना, उदासिनता, लापर्वाही र भ्रष्टाचारलाई त्यागेर अगाडि बढ्नुस्, आफ्नो बारेमा होइन, संस्थाको बारेमा सोचेर अगाडि बढ्नुस्, अबको १०० दिन भित्र नतिजा आउने गरि काम गर्नुहोस् ।”

उहाँले आयोग र केन्द्र दुबै कार्यालयलाई तीन महिने, एक बर्षे र नीतिगत प्रक्रियाका कार्य योजना बनाई काम गर्न निर्देशन दिनुभयो । जागिर खानु ब्यक्तिगत जीवनयापनको आवश्यकता मात्र नभई देश र समाजप्रतिको कर्तब्य पनि हो भन्दै उहाँले कर्मचारीले हुने र गर्नसक्ने काम चुस्त दुरुस्त रुपमा गर्नुपर्ने र हुनै नसक्ने कामलाई छोडिदिनुपर्ने बताउनुभयो ।

चिकित्सा शिक्षा आयोगले पििन कार्य योजना बनाएर काम चुस्त दुरुस्त रुपमा काम गर्न निर्देशन दिदै मन्त्री पौडेलले मेडिकल शिक्षा सुधार गर्दै यहाँको प्रणालीलाई समेत विवादरहित र निष्पक्ष प्रणालीका रुपमा लैजानु पर्ने बताउनु भयो । एक वर्षमा कति विशेषज्ञ जनशक्ति आवश्यक पर्ने हो त्यसको आँकलन गर्दै जनशक्ति उत्पादन गर्नु पर्नेमा जोड दिदै उहाँले त्यसो भएमा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई पनि योजना बनाएर अगाडि बढ्न सहज हुने बताउनुभयो ।

उहाँले मेडिकल कलेज सुधार्नका लागि गरिएको सकारात्मक काममा एक दुई जनाले बिरोध गर्दैमा केही हुदैन भन्दै जनताको पक्षमा काम गर्दा कर्मचारीले आफ्नो कर्तव्य भने भुल्न नहुने औल्याउनुभयो । आयोग र केन्द्रलाई निर्देशन दिदै मन्त्री पौडेलले भन्नुभयो, “कर्मचारीले कुर्सीमा मात्रै बस्ने होइन, संस्था सुधारेर अगाडि बढ्नु पर्छ, म आफू पनि मन्त्री मात्रै नभई कर्मचारी भएर दिन रात काम गर्नेछु, तपाईहरु पनि सस्था सुधार्ने गरी काम गर्नुस् ।”

शिक्षामन्त्री पौडेलले मन्त्री पद अलौकिक नभएको भन्दै संबिधानले ब्यबस्था गरेका जनताका शैक्षिक हकलाई ब्यबहारमा प्रकट हुने गरी काम गर्न आफू लाग्ने बताउनुभयो । कर्मचारीले सबै काम संकल्पकृत भएर गर्नुपर्नेमा जोड दिंदै उहाँले काम गर्ने क्रममा आईपर्ने जस्तोसुकै समस्याका गाँठो फुकाउन समन्वय गर्ने कार्यमा आफू लाग्ने भनाई राख्नु भयो ।

कार्यक्रममा शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादवले कार्ययोजना अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिंदै सहजीकरणका लागि पहल गर्ने बताउनुभयो । कर्मचारीले सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिंदै उहाँले कर्मचारीलाई मन्त्रालयको सहयोग रहने तर कर्मचारीको पनि उत्तिकै सहयोग जरुरी रहने औल्याउनु भयो ।

कार्यक्रममा शिक्षा सचिव रामप्रसाद थपलियाले कर्मचारीले इमान्दार भएर काम गर्नु पर्नेमा जोड दिदै मन्त्रीले शिक्षाको क्षेत्रमा सुधार गर्न खोजेकाले उहाँको अभियानलाई कर्मचारीले सघाउनु पर्नेमा जोड दिनुभयो । उहाँले नीति नियम पालना गरि कर्तव्य निष्ट भएर काम गर्नुपर्नेमा जोड दिदै कर्मचारीले गरेको सकारात्मक र राम्रा कामलाई मन्त्रालयले सहयोग गर्ने उहाँले बताउनुभयो ।

त्यस अवसरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, सदस्य सचिब डा.भोजराज काफ्ले, मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणी पौडेल र उपनिर्देशक केशबप्रसाद दाहालले सम्बन्धित कार्यालयले गर्दै आएको काम, प्रगति, समग्र अवस्था, संभावना, समस्या र चुनौतीकाबारेमा मन्त्रीलाई जानकारी गराउनु भएको थियो ।