प्याब्सन पदाधिकारीलाई सम्मान गर्दै नगर प्रमुख श्रेष्ठले भन्नुभयो : “तिहार पछि ढुक्कले स्कुल खोल्नुस्”

भक्तपुर, १४ कात्तिक : मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले तिहार पछि ढुक्कले स्कुल खोल्न विद्यालय सञ्चालकहरुलाई आग्रह गर्नु भएको छ । नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाको आयोजना तथा नमस्ते ख्वप टिभी र नेपाल फोटो संसार प्रा.लि को सहकार्यमा मध्यपुरथिमिमा आयोजना गरिएको प्याब्सनका चारवटै नगरपालिकाका पदाधिकारीलाई सम्मान एवं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
कोरोना भाइरस महामारीका कारण चैतदेखि बन्द विद्यालय सञ्चालन गर्न मध्यपुरथिमि नगरपालिकाले रोक लगाउँदै आएकोमा तिहार पछि भने सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न उहाँले विद्यालय सञ्चालकहरुलाई आग्रह गर्नु भयो ।
नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “कोरोनाको जोखिम रहेकाले मध्यपुर थिमि नगर क्षेत्रमा उपत्यकामा सबभन्दा पछि विद्यालय खोल्ने अनुमति दिन्छौँ भनेका थियौ, प्याब्सन मध्यपुरले पनि यसमा सहमति जनाएको थियो, अब तिहार पछि सबै कक्षा सञ्चालन गरेर पठन पाठन शुरु गर्नुस् ।” नगरपालिकाले आजै यसबारेमा निर्णय गरेर सूचना जारी गर्ने बताउदै उहाँले कोरोनाको जोखिम अझै कायमै रहेकाले सबै विद्यालयले स्वास्थ्यका सबै मापदण्ड अपनाएर पठन पाठन शुरु गर्न अवरोध नहुने बताउनु भयो ।
नगर प्रमुख श्रेष्ठले आगामी फागुन ६ गते नेपालमै पहिलो पटक मनाउन लागिएको राष्ट्रव्यापी नृत्य दिवस मध्यपुर थिमिबाट मनाउन शुरु गर्ने बताउदैनगरपालिकाले त्यसको लागि बजेटसमेत विनियोजन गरेको बताउनु भयो । उहाँले मध्यपुरथिमिको सम्पदा पुर्ननिर्माण देशभरीमै अग्रस्थानमा भएको भन्दै दिवाकालिन र रात्रीकालिन पर्यटन प्रवद्र्धनमा नगरपालिका लागिरहेको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठले भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिका प्याब्सनका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठ, प्याब्सन केन्द्रीय सचिव भुवनलाल श्रेष्ठ, प्याब्सन केन्द्रीय सह–कोषाध्यक्ष गणेश बाबु पोखरेल, राष्ट्रिय टेलिभिजन प्रसारक संघका अध्यक्ष शंकर अधिकारी, नमस्ते ख्वप टिभीका अध्यक्ष बालकृष्ण श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाको राहत कोष तथा नमस्ते ख्वप टिभीको स्टुडियो निर्माणको लागि संघका अध्यक्ष चुडामणि फुयाँल, उपाध्यक्ष प्रदिप श्रेष्ठ, दिलकृष्ण प्रजापति, भुवनलाल श्रेष्ठ, विनोद काफ्ले, रामकुमार भट्टराई, कृष्ण कार्की, गणेशबाबु पोखरेल र अनिल न्यौपानेले आर्थिक सहयोग प्रदान गर्नु भएको थियो । यसअवसरमा नवगठित नृत्य निर्देशक संघ नेपाल चन्द्रागिरि नगर कमिटिलाई बधाई पत्रद्वारा सम्मान गर्नुभएको थियो ।
कार्यक्रमका सभापति एवं नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाका अध्यक्ष चुडामणि फुयाँलले कार्यक्रम सञ्चालन नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखा कोषाध्यक्ष रञ्जना सितिखु तथा नमस्ते ख्वप टिभीका प्रबन्ध निर्देशक ऋषिकेश श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रम समापन गर्दै नृत्य निर्देशक संघका अध्यक्ष चुडामणि फुयालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद दिदै कार्यक्रम समाप्तिको घोषणा गर्नुभएको थियो ।