कृषि विश्वविद्यालयको उद्घाटन

सप्तरी, २७ मङ्सिर : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कृषि क्रान्तिको जोखिम मोल्न सके मात्र समृद्धिले तीव्रता पाउने बताउनुभएको छ । राजविराजमा आज कृषि विश्वविद्यालयको उद्घाटन गर्दै अध्यक्ष यादवले भूव्यवस्था परिवर्तन र सक्षम जनशक्ति उत्पादन गरेमा मात्र गरिबी भगाउन सकिने बताउनुभयो । हालको भूमि व्यवस्था र उत्पादन प्रणालीबाट किसानले दाल, चामल जोर्न सके पनि समृद्ध बन्न नसक्ने उहाँले ठोकुवा गर्नुभयो ।
कृषि व्यवस्था नै परिवर्तन गर्नुपर्ने आवश्यकताामा पटकपटक जोड दिनुभएका यादवले कृषि आधुनिकीकरण र चक्लाबन्दीले सयौँ गुणा उत्पादन वृद्धि हुने जिकिर गर्नुभयो । चीनलगायत देशमा कृषि शिक्षालाई महत्वका साथ लिने गरिएको उदाहरण दिँदै उहाँले १७ प्रतिशत भूभागमा कृषि भए पनि चीनले अन्यत्र देशमा कृषि उत्पादन निर्यात गरिरहेको बताउनुभयो ।
नेपालको ८० प्रतिशत उर्वर भूमिमा चक्लाबन्दी र आधुनिकीकरणबाट सयौँ गुणा उत्पादन वृद्धि गरी विदेश पठाएर अर्बौं रुपैयाँ भित्र्याउन सकिने यादवले बताउनुभयो । गल्लीगल्लीमा खुलेका स्तरहीन शिक्षालयको सुधार आवश्यक रहेको भन्दै जसपा अध्यक्ष यादवले यसमा सुधार नभए बेरोजगार उत्पादन गर्ने कारखाना मात्र बन्ने बताउनुभयो ।
विश्वविद्यालयका कुलपति प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले स्वयं प्रदेश प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् सञ्चालन ल्याउने घोषणा गर्नुभयो । क्षमतावान विशेषज्ञ जनशक्ति उत्पादन नभएसम्म विकास र समृद्धि असम्भव रहेकाले अध्यादेशमार्फत वीरगञ्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना गर्न लागिएको बताउनुभयो ।
विश्वविद्यालयका उपकुलपति डा वैद्यनाथ महतोले स्वागत गर्नुभएको उद्घाटन समारोहमा प्रदेश नं २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, प्रतिनिधिसभा सदस्य सूर्यनारायण यादव, प्रदेश सांसद मनिसकुमार सुमन, राजविराज नगर प्रमुख शम्भुप्रसाद यादवले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा कुलपति प्रदेश नं २ का मुख्यमन्त्री राउतले उपकुलपति डा वैद्यनाथ महतोलाई शपथ ग्रहण गराउनुभयो । अध्यक्षता विश्वविद्यालयका सहकुलपति प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले गर्नुभएको थियो । –––