नेपालमा उच्च शिक्षाको गुणस्तर खस्किदो, १४ प्रतिशत शैक्षिक संस्था मात्रै गुणस्तीय

काठमाडौं, २८ मंसिर । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियामा आएका कलेजमध्ये करिब १४ प्रतिशतको मात्र तोकिएअनुसार शैक्षिक गुणस्तर रहेको पाइएको छ । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रिया अन्तर्गत हालसम्म ३ सय ८४ उच्च शैक्षिक संस्थाहरु सहभागी रहेकोमा विगत १२ वर्षमा ५३ संस्था प्रत्यायनकृत (एग्रिडिएटेड) भएका हुन् ।

यस आधारमा नेपालमा वार्षिक औषत ४.४ वटा कलेजले मात्र गुणस्तरको प्रमाणपत्र लिन सफल भएको देखिएको छ । विश्वविद्यालय अनुदान आयोगले वर्षेनी गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियामा आउन नेपालका उच्च शैक्षिक संस्थाहरुलाई अनुरोध गर्दै आएको छ । यसरी अनुरोध गरिएका मध्ये ३ सय ८४ कलेजले गुणस्तर परीक्षणका लागि आवेदन दिएकामा ५३ ले गुणस्तर प्रमाणपत्र लिएका छन् । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियाका आयोगले गुणस्तरका लागि आवेदन मागदेखि प्रत्यायन हुँदासम्म ७ वटा प्रक्रिया पूरा गर्नुपर्छ ।

आयोगमा सचिव शंकरप्रसाद भण्डारीले नेपालमा सञ्चालित १ हजार ४ सय ३७ मध्ये २६.७५ प्रतिशत अर्थात ३ सय ८४ वटा उच्च शैक्षिक संस्थाले गुणस्तर प्रमाणित गर्न आयोगमा निवेदन दिएको जानकारी दिए । यसमध्ये हालसम्म १ सय ६७ उच्च शैक्षिक संस्थाहरुले स्व–अध्ययन प्रतिवेदन पेश गरिसकेका ७५ वटाको समकक्षी परीक्षणको पूर्ण भ्रमण सम्पन्न भैसकेको छ । त्यसैगरी समकक्षी परीक्षणको पूर्ण भ्रमण सम्पन्न भएका मध्ये ५३ वटा उच्च शैक्षिक संस्थाहरु प्रत्यायनकृत भएको आयोगले सार्वजनिक गरेको वाषर््िाक प्रतिवेदनमा उल्लेख छ ।

गत आवमा ४ वटा उच्च शैक्षिक संस्थाहरुले गुणस्तर प्रत्यायनको प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् भने १८ वटा संस्थाहरुको क्युएए चक्र पूरा भएको छ । २१ वटा संस्थाको पिआरटि भएको, २० वटाको स्वअध्ययन प्रतिवेदन स्वीकृत भएको, २० वटाका लागि पिआरटी गठन भएको र २६ वटा संस्थाहरुको आशयपत्र स्वीकृत भएको आयोगले जनाएको छ ।

गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली ऐच्छिक मात्र भएकाले यसलाई सुदृढ गरी क्रमशः अनिवार्य गर्नुपर्ने व्यवस्था छ । यस प्रकृयामा सामुदायिक तथा निजी क्याम्पसहरुको आकर्षण बढेको देखिए पनि विश्वविद्यालयका आंगिक क्याम्पस, केन्द्रीय विभाग तथा स्कुलहरुले भने चासो नदेखाएको पाइएको छ । यसबाट सरकारले चालु आर्थिक वर्षमा १२० वटा संस्थालाई प्रत्यायनकृत गराउने लक्ष्य चुनौतिपूर्ण देखिन्छ ।