प्याब्सन भक्तपुरको सुविधा सम्पन्न नयाँ भवन उदघाटन

भक्तपुर, २८ मङ्सिर : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) भक्तपुरले आफ्नै भवन निर्माण सम्पन्न गरेको छ ।
प्याब्सन भक्तपुरले सोमबार आयोजना गरेको कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले नवनिर्मित भवनको उद्घाटन गर्नु भयो । कार्यक्रममा उहाँले प्याब्सन केन्द्रको पनि अब आफ्नै भवन रहेको चर्चा गर्दै भक्तपुर जिल्लाले आकर्षक भवन बनाएर अन्य जिल्लालाई पनि प्रोत्साहन गरेको बताउनु भयो ।

निजी विद्यालयले सरकारलाई जहिले पनि सधाउदै आएको तर सरकारले निजी विद्यालयलाई सकारात्मक दृष्टिकोणबाट नहेरेको भन्दै उहाँले अब प्याब्सनले विद्यालय केन्द्रीय र नीतिगत विषयका कार्यहरुलाई अगाडि बढाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष डि.के. ढुङगाना, महासचिव कुमार घिमिरे, सचिव भुवनलाल श्रेष्ठ, प्याब्सन भक्तपुरका वरिष्ट सल्लाहकार भक्तराज भण्डारी, सल्लाहकार संगीता हमाललगायतले भक्तपुर प्याब्सनले निर्माण गरेको भवनले प्याब्सनमा आबद्ध यहाँका सबै विद्यालयले आफ्नै घर पाएको बताउनुभयो ।

त्यसअवसरमा प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्र अधिकारीलेले भक्तपुरका प्याब्सनमा आवद्ध विद्यालयहरुको सहयोग र ऋणमा २०६१ सालमा सूर्यविनायक नगरपालिका कटुञ्जेमा खरिद गरेको जग्गामा २०६५ सालमा शिलान्यास गरेको भवनले अहिले आएर पूर्णता पाएको बताउनु भयो ।

उहाँले प्याब्सनमा आबद्ध भक्तपुरका सबै विद्यालयको सहयोग र लगनशिलताबाट तीन तले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्न सफल भएको भन्दै उहाँले यस भवनमा प्याब्सन जिल्लाको मात्रै नभई यहाँको चारवटै नगर प्याब्सनको समेत कार्यालय रहने गरि व्यबस्थापन गरिएको बताउनुभयो ।

भवनमा कार्यक्रम तथा बैठक हल, पदाधिकारीहरुको कार्यकक्ष, प्रशासन, परीक्षा तयारी शाखा, चार नगर प्याब्सनको कार्यालय, तालिम हल लगायतका संरचनाहरु रहेका छन् । २०६५ सालमा प्याब्सन भक्तपुरका तत्कालिन अध्यक्ष भुवनलाल श्रेष्ठको पालामा शिलान्यास भएर निर्माण शुरु भएको भवनले अहिले पूर्णता पाएको हो ।