आयोगद्धारा २ हजार ५९८ शिक्षक माग
भक्तपुर, ७ पुस । शिक्षक सेवा आयोग सानोठिमीले आज निम्न माध्यामिक विद्यालय तृतीय श्रेणीमा २ हजार ५९८ शिक्षकको स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । आयोगले पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माघ १३ गतेसम्म अबिलम्ब शुल्कमा अनलाइनबाटै आवेदन फाराम भर्ने गरि स्थायी पदपूर्तिका लागि आज आव्हान गरेको हो ।
आयोगले अंग्रेजी विषयमा ६२४, नेपालीमा ४३७, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा १, गणित–विज्ञानमा ३६४, संस्कृत व्याकरणमा ३, संस्कृत भाषामा ४ र संस्कृत कर्मकाण्डमा १ शिक्षकका लागि दरखास्त आव्हान गरेको हो । परीक्षा भने आगामी चैत १७ गते हुने गरी मिति निर्धारण गरेको आयोगले जानकारी दिएको छ ।
तीन वर्षपछि आयोगले शिक्षकको खुला पदमा विज्ञापन गरेको हो। यसअघि आयोगले २०७५ असारमा खुलातर्फको विज्ञापन गरेको थियो। त्यसपछि कार्यरत अस्थायीलाई स्थायीका लागि विज्ञापन खुलाइए पनि खुलाका लागि विज्ञापन गरिएको थिएन।
आयोगले बुधबार प्रदेशगत रूपमा विज्ञापन खुलाएको हो। आयोगले पहिलोपल्ट २०० पूर्णाङ्कको परीक्षा लिन लागेको हो। यसअघि ४० पूर्णाङ्कको वस्तुगत र ६० पूर्णाङ्कको विषयगत परीक्षा लिइन्थ्यो। विषयगत पाठ्क्रममा आफूले चाहेको विषयमा १०० पूर्णाङ्कका लागि परीक्षा दिनुपर्नेछ। यसमा लामो र विश्लेषणात्मक उत्तर आउने प्रश्न सोधिनेछ।
सामान्यततर्फ सामान्य ज्ञान राखिएको छ। सामान्य परीक्षा उत्तीर्ण गरेपछि मात्र विषयगत परीक्षा दिनुपर्ने व्यवस्था आयोगले गरेको छ। सामान्य परीक्षा १०० पूर्णाङ्कको हुनेछ। सामान्य परीक्षा उत्तीर्ण भएपछि मात्र विषयगत परीक्षामा सहभागी हुन पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ। सामान्य परीक्षा विज्ञापन भएका सबै विषयका लागि साझा हुने व्यवस्था छ। तहअनुसार भने फरकफरक हुनेछ। विषयगत परीक्षा उत्तीर्ण भएपछि अन्तर्वार्ताको पालो आउँछ।
यसअघि शिक्षासम्बन्धी सामान्य जानकारी, नेपालको शैक्षिक इतिहास, सार्कलगायत अन्य केही मुलुकका शिक्षासम्बन्धी जानकारी, नेपालको संविधान र शिक्षासम्बन्धी ऐननियम तथा सिकाइसम्बन्धी सामान्य जानकारी मात्र अध्ययन गरे हुन्थ्यो। परिमार्जित पाठ्यक्रमअनुसार सामान्य परीक्षाको पाठ्यक्रमको दायरा निकै फराकिलो बनाइएको छ।
माध्यमिक तहमा वस्तुगततर्फ ब्रह्माण्डको जानकारी, विश्वको भूगोल, नेपालको भूगोल, नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्थाबारेमा अध्ययन गर्नुपर्नेछ। यस्तै नेपालको आर्थिक विकास, वातावरण, विज्ञान र प्रविधि, अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघसंस्थाको पनि सामान्य ज्ञान हासिल गर्नुपर्नेछ। आयोग परीक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक, सांस्कृतिक लगायत समसामयिक घटनाबाट पनि प्रश्न सोधिनेछ। यसका लागि ४० पूर्णाङ्क तोकिएको छ।
यस्तै शिक्षा सम्बन्धी आधारभूत ज्ञानतर्फ शिक्षाको परिचय र नेपालको शैक्षिक विकास, शिक्षा मनोविज्ञान, सिकाइ प्रक्रिया र सिकाइका सिद्धान्तबाट प्रश्न सोधिनेछ। परीक्षार्थीले पाठ्यक्रम तथा पाठ्यपुस्तक, शिक्षण सिकाइ योजना, विधि र शिक्षण सामग्री, मूल्यांकन र परीक्षा, शैक्षणिक व्यवस्थापन र शैक्षणिक संगठन, शिक्षक पेसागत विकास र शैक्षिक अनुसन्धानबारे पनि ज्ञान हासिल गर्नुपर्नेछ। यसका लागि २४ पूर्णाङ्क तोकिएको छ।
अबदेखि शिक्षक परीक्षामा सामान्य बौद्धिक परीक्षण पनि गरिने भएको छ। त्यसअन्तर्गत शाब्दिक बौद्धिक परीक्षण, गणितीय क्षमता, स्थानिक तार्किक सीप, दृश्यात्मक÷धारणात्मक सीप राखिएको छ। यसका लागि १६ पूर्णाङ्क तोकिएको छ। यस्तै सूचना तथा सञ्चार प्रविधितर्फ १० पूर्णाङ्क र संविधान, शिक्षासम्बन्धी ऐननियमका लागि १० पूर्णाङ्क कायम गरिएको छ।





