लाइट हाउस नेपालका विद्यार्थीको ‘एलएचएफएन एलुमुनाई’ गठन

काठमाडौँ, ७ पुस : नेपालका सिमान्तकृत बालबालिकाको शिक्षाका लागि कार्य गर्दै आइरहेको संस्था लाइट हाउस नेपालबाट उच्च शिक्षा प्राप्त गरी विभिन्न क्षेत्रमा कार्यरत पूर्वविद्यार्थीले क्लब गठन गरेका छन् । ‘एलएचएफएन एलुमुनाई’ नाम दिइएको क्लबको नेतृत्व नेपालको सिमान्तकृत बादी समुदायबाट पहिलो पटक स्नातक पास गर्नुभएकी शुसन बादीले गर्नुभएको छ । क्लबले आफ्नो काम अघि बढाउँदै देशका विभिन्न क्षेत्रमा कार्यक्रम गरी शिक्षाबाट बञ्चित बालबालिकाका हितमा अभियान सञ्चालन गर्ने जनाएको छ । लाइट हाउस फाउण्डेशनका अध्यक्ष विजय लामाले हालसम्म ७०० बालबालिकालाई देशका विभिन्न दुर्गम क्षेत्रबाट ल्याई छात्रावाससहित उच्च शिक्षा प्रदान गरिसकेको जानकारी गराउनुभयो ।

लाइट हाउस नेपालका संस्थापक राजु सुन्दासले अहिलेको युगमा समूह निर्माण तथा सहकार्यको उपयोगिताबारे प्रकाश पार्दै सामूहिक कार्यले नै संस्थाको उद्देश्य हासिल गर्न सफलता प्राप्त गर्न सकिने धारणा व्यक्त गर्नुभयो । पूर्वविद्यार्थी एस्तर बादी, एलिना बादी, सुसन बादी, देवीसरा बादी लगायतले संस्थाबाट अध्ययन गरी हाल देशभर विभिन्न क्षेत्रमा काम गरिरहेका पूर्वविद्यार्थीको क्लब शिक्षाको उज्यालो किरणबाट बञ्चित बालबालिकाको शिक्षाका लागि लाइट हाउस नेपालको सहयोगी बन्ने बताउनुभयो ।