मदरल्याण्डमा अभिमुखीकरण एवं बधाई कार्यक्रम सम्पन्न
भक्तपुर, ७ पुस । सूर्यविनायक नगरपालिका–९ भातेढिकुरस्थित भक्तपुरमा रहेको मदरल्याण्ड स्कुलले आज “आधारभूत शिक्षा एवं सचेतना” विषयक एकदिने अभिमुखीकरण तथा सोही स्कुलबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै बिदाई कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं. ९ का वडाध्यक्ष उपेन्द्रराज केसीले फूलको गमलामा पानी हाल्दै कार्यक्रमको उद्घाटन गर्नुभयो । उहाँले मदरल्याण्ड स्कुलबाट २०७७ र २०७८ मा मायाको चिनो प्रदान गरी बधाई तथा बिदाई गर्नुभयो ।

कार्यक्रमको पहिलो चरणमा शैक्षिक वर्ष २०७८ मा मदरल्याण्ड स्कुलका कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत २२४ जना विद्यार्थीहरुलाई महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं डिएसपी रामबहादुर केसीले आधारभूत शिक्षा एवं विद्यार्थीहरुले अपनाउनु पर्ने पक्षहरुका विषयमा सचेतना तथा अन्तरक्रिया गराउनु भएको थियो । पब्लिक स्पीकर विकाश देव योन्जनले सकारात्मक सोचको विकास गर्नु पर्ने एवं विद्यार्थीहरुले आफ्नो जीवनमा गल्ती गर्नै नहुने हैन तर गल्ती सच्याउँदै मिहिनेत गरी असल व्यक्ति बनी राष्ट्रको लागि सक्षम नागरिक बन्नु पर्ने बताउनु भएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा वडाअध्यक्ष केसीले मदरल्याण्ड स्कुलबाट शैक्षिक वर्ष २०७६ र २०७७ मा कक्षा १० को एसईई परीक्षा उत्तीर्ण ५८ जना विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । 
बधाई तथा बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ९ का वडाध्यक्ष उपेन्द्रराज केसीले शिक्षालाई किताबी ज्ञानको दायरामा मात्रै कैद गर्न नहुने बताउनु भयो ।
प्रत्येक मानिससंग फरक क्षमता हुने र त्यसको पहिचान गर्न सक्नुपर्नेमा जोड दिदै उहाँले पढाइमा पछि परेका मानिस पनि जिन्दगीमा अघि बढेका उदाहरण दिनुभयो । वडाध्यक्ष केसीले पढाइ संगै विद्यार्थीको विशिष्ठ क्षमता पहिचान गरी त्यसको विकास गर्न विद्यार्थी, अभिभावक, विद्यालय र राज्य लाग्नुपर्ने आवश्यकता औल्याउनु भयो ।
उहाँले आफ्नो वडामा रहेको मदरल्याण्डले नगरपालिकाको अपेक्षा अनुरुप शिक्षा प्रदान गरिरहेको भन्दै सक्षम विद्यार्थीबाट नै सक्षम समाज बन्ने र त्यसमा विद्यालयको योगदान महत्वपूर्ण हुने बताउनु भयो । आफ्नो समाज र राष्ट्रलाई कस्तो बनाउने भन्ने कुरा विद्यार्थी वर्गकै हातमा रहेको भन्दै उहाँले विद्यार्थी वर्गमा देश र समाजप्रति सकारात्मक भावनाको विकास गर्न शिक्षाको महत्व माथि पनि प्रकाश पार्नु भयो ।

कार्यक्रममा इप्सन अध्यक्ष जीबी खडकाले खादा तथा विद्यालय संचालिका शर्मिला देउजाले टिका लगाई विद्यार्थीलाई बधाई ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा मदरल्याण्ड स्कुलले हरेक वर्ष गर्दै आएको अभिमुखीकरण एवं एसईई बधाई कार्यक्रम कोभिड–१९ ले गर्दा प्रभावित भएकाले दुईवर्ष पछि एकै पटक आयोजना गरिएको स्कुलका संचालक एवं प्रिन्सिपल तथा नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खडकाले बताउनुभयो । विद्यालय विद्यार्थीको दोश्रो घर भएको भन्दै प्रधानाध्यापक खडकाले उतीर्ण भएर बाहिरिएका विद्यार्थीहरुलाई यस्ता कार्यक्रमले विद्यालयसँग जोड्ने विश्वास व्यक्त गर्दै विद्यार्थीको उज्वल भविश्यको कामना गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयले संचालन गरेको व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहको परीक्षामा नेपाल टप गर्ने भक्तपुर बागिश्वरी कलेजीकी बबिता ग्वाछालाई समेत मदरल्याण्ड स्कुलले सम्मान गरी बधाई तथा शुभकामना दिएको थियो ।
सम्मान पछि ग्वाछाले विद्यालयले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै पढाइमा सफलता प्राप्त गर्ने सुत्रहरु समेत बताउनु भयो । इन्टरनेटको सदुपयोग गर्नुपर्नेमा जोड दिंदै उहाँले सामाजिक संजाल र मोबाइलका खेलहरुले पढाइमा प्रगति गर्न नसकिने सुझाव समेत दिनु भयो ।

विद्यालयकी संचालिका शर्मिला देउजाको अध्यक्षतामा संचालित कार्यक्रममा इप्सन अध्यक्ष जीबी खडका, राष्ट्रिय संगितकर्मी संघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्द, नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजिप घिमिरे शुभचिन्तक, पारिजात विद्या कुञ्जका प्रिन्सिपल विक्रम थापा, शिक्षाविद पद्मनाथ तिवारी, अभिभावक प्रतिनिधि भिमेश्वर थापा, प्राध्यापक÷अधिवक्ता विकल प्रजापति लगायतको उपस्थिति रहेको थियो ।







