पाठ्यक्रम विकास केन्द्रको बेवास्ताले पाएनन्चा र लाख विद्यार्थीले ग्रेडसिट

काठमाडौं, ९ पुस । पाठ्यक्रम विकास केन्द्रको समयमै काम गर्न नसक्दा नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ को परीक्षा दिएर १२ मा पढिरहेका विद्यार्थीले ग्रेडसिट पाउन सकेका छैनन् । सैद्धान्तिक र प्रयोगात्मकको क्रेडिट आवर निर्धारण नहुँदा उनीहरू ग्रेडसिट पाउनबाट वञ्चित भएका हुन् । ग्रेडसिट नहुँदा कक्षा १२ को परीक्षा फारम खुलेको एक महिनासम्म पनि विद्यार्थीले भर्न पाएका छैनन् ।
पाठ्यक्रम निर्माण गर्दा नै टुंग्याउनुपर्ने विषय झन्डै दुई वर्षसम्म पनि अन्योलमा छ । यसका कारण झन्डै चार लाख विद्यार्थीले ग्रेडसिट पाएका छैनन् भने विद्यालय तथा अभिभावक नै अन्योलमा छन् । अहिलेको व्यवस्थाअनुसार कक्षा ११ उत्तीर्ण भएपछि मात्र १२ मा भर्ना हुन पाउँछन्, तर अहिले विद्यार्थीले परीक्षा दिए पनि आधिकारिक नतिजा र ग्रेडसिटविना १२ मा पढिरहेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडसिटविना १२ को परीक्षा फारम बुझ्दैन । राष्ट्रिय परीक्षा बोर्ड काठमाडौं प्रमुख जयन्ती सत्यालले कक्षा ११ मा पास नभएकाले १२ को फारम भर्न नसक्ने बताइन् । अहिले विद्यार्थी र अभिभावकले ग्रेडसिट नपाएको विषयमा दिनदिनै गुनासो आउने गरेको उनले जानकारी दिइन् । ‘विद्यार्थी र अभिभावकले ग्रेडसिटका लागि हामीलाई दबाब दिइरहनुभएको छ, तर त्यो हामीबाट टुंगिने विषय होइन, बोर्डबाट सुझाव गइसकेको छ । ग्रेडसिटका लागि क्रेडिट आवर पाठ्यक्रम विकास केन्द्रबाट टुंगिएर आउनुपर्ने हो, तर सबैले राष्ट्रिय परीक्षा बोर्डमा सोधिरहेका छन्,’ बोर्ड काठमाडौं कार्यालय प्रमुख सत्यालले भनिन् ।’