मध्यपुरथिमिका नगर प्रमुख श्रेष्ठ सम्मानित, पाँच दिने तालिम सम्पन्न (फोटो फिचर)

भक्तपुर, २३ पुस । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई सम्मान गरिएको छ । एजुकेशन भ्वाईस मासिकले मध्यपुरथिमिको अतिथि फुटल्याण्डमा आयोजना गरेको सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रममा संस्थाका अध्यक्ष रमेश गिरी ‘आशा’ले उहाँलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नु भएको हो ।
मध्यपुरथिमि नगरपालिकामा नगर प्रमुख निर्वाचित भएपछि उहाँले साडे चार वर्षको अबधिमा नगरपालिकाको विकास, कला, संस्कृति र मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास र यहाँको समग्र विकासमा अहोरात्र खटिएर नगरपालिकालाई विश्वमै चिनाउन उहाँले पुर्याउनु भएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरेको हो ।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठले यहाँको मूर्त तथा अमूर्त कलाको संरक्षण, लोप भइसकेका कला, संस्कृतिको जगेर्ना, पुरिएका र घाँसे मैदानमा परिणत पोखरी, इनार ढुङ्गेधाराको पुर्ननिर्माण, पाटी, बिहार, दरबार, मठ मन्दिरको पुर्ननिर्माण, फोहोर फाल्ने ठाउँमा सुन्दर पार्का, खेलकुद मैदान निर्माण, फोहोरलाई कम्पोष्ट मल उत्पादनदेखि अन्य विकासका कामलाई अगाडि बढाएको बताउनु भयो ।
उहाँले भन्नुभयो, “मध्यपुरथिमि नगरपालिका चार वर्ष अगाडि कस्तो थियो, आज कस्तो छ, यहाँका बासिन्दाले मात्रै हैन, थिमि आउने जो कोहीले अनुभवन गर्न सक्छन्, नेपालमा सबै पालिका मध्ये थिमि अहिले विकासमा टप ३ मा पर्न सफल भएको छ, नेपालमै पहिलो पटक एशियस अवार्ड पाउन सफल भएको छ, मध्यपुरथिमि नगरपालिकाको विकास अन्य पालिकालाई अनुसन्धानको मोडल बन्न थालेको छ, यसैमा हामी खुसी छौँ ।”
नगर प्रमुख श्रेष्ठले आफू जनप्रतिनिधि भएर आएकपछिको कुनै पनि समय खेर नफाली निरन्रर अर्जुन दृष्टि लगाएर यहाँको विकासमा तल्लिन भएको भन्दै अहिले मध्यपुरथिमि नगरपालिका आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्न सफल भएको बताउनु भयो ।
खेलकुद र मनोरञ्जनबाट पनि पर्यटक भित्रयाउन सकिन्छ भन्ने लागेर नगरपालिकाले त्यस तर्फपनि कदम अगाडि बढाएको भन्दै उहाँले चार वर्ष अगाडि नाक थुनेर हिड्नु पर्ने ठाउँहरु यतिखेर घुम्ने सुन्दर ठाउँमात्रै नभई बिभिन्न म्युजिक भिडियो, चलचित्रसम्मको छायांकन गर्ने आकर्षक थलोमा परिणत भएको बताउनु भयो ।
मध्यपुरथिमि नगरपालिकको सहकार्यमा एजुकेशन भ्वाईसले सञ्चालन गरेको पाँच दिने एडभान्स रेडियो उद्घोषण तथा पत्रकारिता तालिममा सहभागि ३० जना प्रशिक्षार्थीलाई उहाँले प्रमाणपत्र प्रदान गर्दै तालिमले पत्रकारिता क्षेत्रको ढोका खोलेकाले यसै क्षेत्रमा अगाडि बढ्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रशासकीय प्रमुख चुरामणि पन्थीले मध्यपुरथिमिको विकासको चर्चा गर्नुका साथै पत्रकारिता तालिम लिएकाहरुलाई पत्रकारिता क्षेत्रमै अगाडि बढ्न अभिप्रेरित गर्नु भयो । उहाँले तालिम लिएर र सिकेर कहिले पुरा नहुने भन्दै मानिसको जीवन सिकाइको एक पाटो भएकाले सधै सिकाइ अगाडि बढिरहने बताउनुृ भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति तालिमले उपलब्धी प्रदान गरेको महसुस गरेको बताउदै पत्रकारिता क्षेत्रमा अगाडि बढ्न चाहनेलाई महास.घ सधै सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले महास.घले आगामी दिनमा सञ्चालन गर्ने तालिममा पनि सहभागिता गराउने बताउदै पत्रकारिता क्षेत्रमा अगाडि बढ्न नयाँ प्रवेशीलाई उहाँले आग्रह गर्नु भयो ।
त्यसअवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार एवं प्रशिक्षक पुष्करराज बुढाथोकी, एजुकेशन भ्वाईसका अध्यक्ष रमेश गिरीलगायतले पत्रकारिता क्षेत्रको भविश्य र अवसरकाबारेमा चर्चा गर्नु भयो । पाँच दिने तालिममा पत्रकार रमेश गिरी, कान्तिपुर दैनिकका उपसम्पादक मकर श्रेष्ठ, नेपाल समाचार पत्र दैनिक तथा रेडियो नेपालका पत्रकार पुष्करराज बुढाथोकी, नमस्ते ख्वप टेलिभिजनका निर्देशक ऋषिकेश श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो ।