सिन्धुपाल्चोकमा शिक्षाको उज्यालो छर्न पुस्तकालय स्थापना, साःफु, भक्तपुरले दियो, एक हजार थान पुस्तक
भक्तपुर, २४ पुस । सिन्धुपाल्चोकका विद्यार्थीहरुलाई पुस्तकालय मार्फत शिक्षाको ज्ञान छर्न साःफु, भक्तपुरले पुस्तक हस्तान्तरण गरेको छ । साःफु भक्तपुरले सिन्धुपाल्चोक, पाटीभञ्ज्याङ्गस्थित ठूलो थकनी माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाको लागि पुस्तक हस्तान्तरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमबिच विद्यालयलाई कुल १ हजार ४० थान पुस्तक हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा साःफुका संस्थापक अध्यक्ष लक्ष्मी बखाद्यःले शिक्षामा सबैको पहुँच आवश्यक भएको चर्चा गर्दे हस्तान्तरित किताबबाट ज्ञान बृद्धि गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । साःफुले प्रदान गरेका पुस्तकहरुले विद्यार्थीहरु एवं शिक्षकवर्गलाई पनि सहायता हुने आशा व्यक्त गर्नुभयो । साःफुका सचिव श्यामसुन्दर श्रेष्ठले पुस्तक संकलन कार्य र प्रक्रियावारे जानकारी दिनुहुँदै विद्यार्थीहरुको उज्ज्वल भविष्य निर्माणमा सहयोग गर्ने सबैको प्रशंसा एवम आभार प्रकट गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल तिलकराज खत्रीले ठूलो थकनी माध्यमिक विद्यालयमा पुस्तकालय नभएकोमा दुःख व्यक्त गर्नु हुँदै काठमाण्डौ नजिकै भएर पनि बत्तीमुनिको अध्यारो भइरहेकोमा गुनासो पोख्नु भयो । उहाँले साःफु, भक्तपुरले उपलब्ध गराएका बिभिन्न बिषयका किताबहरुले पाटीभञ्ज्याङ्गमा ज्ञानको उज्यालो छर्ने आशा ब्यक्त गर्नु भयो र पुस्तक सहयोगको लागि साःफु, भक्तपुरलाइ धन्यवाद व्यक्त गर्नु भयो । साफ, भक्तपुर सबेकोलागि शिक्षा नारा सहित वर्षों देखी सामाजिक र शैक्षिक कार्यमा सक्रिय संस्था हो ।





