लमजुङका दुई विद्यालयलाई पोशाक वितरण

काठमाडौँ, २४ पुस : लायन्स क्लब अफ काठमाडौँ समर्पणले लमजुङका दुई विद्यालयलाई पोशाक वितरण गरेको छ । क्लबले आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी लमजुङको राइनास नगरपालिका–८ पिपलटारीमा सञ्चालित अमरज्योति आधारभूत प्राथमिक विद्यालय र मध्यनेपाल नगरपालिका–१ रायपालीमा सञ्चालित शान्ति शक्ति प्राथमिक विद्यालयमा ५१ थान पोशाक वितरण गरेको हो ।

कार्यक्रममा क्लबका अध्यक्ष लवेन्द्रसिंह मल्लले जाडोको समयमा कठ्याङ्गिएर अध्ययन गर्न बाध्य ग्रामीण भेगका विद्यार्थीलाई थोरै भए पनि न्यायो पोशाक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । यसअघि उक्त क्लबले अमरज्योती प्राविलाई खेलकुद सामग्री वितरण गरेको थियो । क्लबका प्रथम उपाध्यक्ष अखिल अग्रवालले पवित्र सामाजिक सेवाको भावना बोकेर स्थापना भएको लायन्स क्बलले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अमरज्योति प्रावि लमजुङका प्रधानाध्यापक हरिमाया घिमिरेले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री सहयोग गरेर ठूलो योगदान गर्न लगाएको भन्दै लायन्स क्लब अफ काठमाडौँ समर्पणलाई धन्यवाद दिनुभयो । एक दशकपहिले काठमाडौँको सानेपामा स्थापना भएको उक्त लायन्स क्लबले गतवर्ष कोरोना सुरुआत चरणमा २०० सिलिन्डरसहित ‘अक्सिजन बैंक’ स्थापना गरी समाज सेवा गर्दै आएको थियो ।

क्लबले कोरोनाको दोस्रो चरणमा ललितपुरको जावलाखेलमा ‘जे एन्ड जे कोभिड क्लिनिक’ स्थापना गरी गरिब तथा विपन्न व्यक्तिलाई निःशुल्क कोरोना परीक्षण मिलाएको क्लबका प्रवक्ता एवं सदस्य विवेक शर्माले जानकारी दिनुभयो । क्लबले आगामी दिनमा पनि समाज सेवालाई निरन्तरता दिने प्रवक्ता शर्माको भनाइ छ ।