विद्यार्थी तथा बालबालिकाका लागि भक्तपुरमा खोप सुरु

भक्तपुर, २६ पुस : भक्तपुरमा विद्यालय जाने विद्यार्थी तथा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना बिरुद्धको खोप अभियान सुरु भएको छ । भक्तपुरमा रहेका ४५ हजार भन्दा बढी बालबालिकालाई कोरोना बिरुद्धको खोप लगाउने उदेश्यसहित अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णप्रसाद मिजारले जानकारी दिनुभयो ।

कार्यालयले आइतबारबाट जिल्लाको सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकामा, आजबाट मध्यपुरथिमि नगरपालिका तथा भोली मंगलबारबाट भक्तपुर नगरपालिका क्षेत्रमा खोप अभियान सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।

विद्यार्थी तथा बालबालिकालाई मोडर्ना खोप दिन लगाउन थालिएको हो । कार्यालयले पठन पाठन सञ्चालन भएका विद्यालय र विद्यालय नजिक रहेका स्वास्थ्य चौकीहरु मार्फत खोप दिन सुरु गरेको छ । कार्यालय प्रमुख मिजारका अनुसार २५० भन्दा बढी विदार्थी भएका विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर खोप दिन थालिएको र त्यो भन्दा कम संख्या भएका विद्यालयको हकमा भने नजिकै अर्को विद्यालयमा खोप केन्द्र सञ्चालन गरिएको छ ।

तर विद्यालयमा जाडो बिदा भएर पठन पाठन बन्द भएको तथा परीक्षा सञ्चालन भइरहेको अबस्थामा भने नजिकको स्वास्थ्य चौकीमा गएर खोप लगाउन सक्ने व्यबस्था गरिएको छ । एक पालिकामा कम्तीमा तीन दिन खोप अभियान सञ्चालन गरिने छ । तीन दिनमा नसकिए केही दिन थप गरेरभए पनि सबै बालबालिकालाई खोप दिने गरि अभियान सुरु भएको हो ।

चाँगुनारायण र सूर्यविनायकका विद्यालयहरुमा हिजोदेखिनै खोप अभियान सुरु भए पछि विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको विद्यालय सञ्चालकहरुले बताएका छन् । आफ्ना विद्यालयका विद्यार्थीहरुलाई विद्यालय आफैले नेतृत्व गर्दै खोप केन्द्रसम्म पुर्याउने र खोप लिने व्यबस्था गरिएको छ ।