इडेन गार्डेनले चुम्यो जिल्लाव्यापी जुनियर फुटसल प्रतियोगिताको उपाधी, आरक्षण फस्ट रनरअप, क्वालिटी, एसएस सदन सेकेन्ड रनरअप र मदरल्याण्ड फेयर टिम

भक्तपुर, १४ चैत । भक्तपुरमा यहीँ चैत १४ गते सुरु भइ आज १५ गते सम्पन्न अन्तर विद्यालयस्तरीय जिल्लाव्यापी जुनियर फुटसल प्रतियोगिताको उपाधी इडेन गार्डेन स्कुलले चुमेको छ ।

विद्यार्थीहरुमा फुटबल खेलप्रति आकर्षण बढाउदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलाडी उत्पादन गर्ने उदेश्यले नेशनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबीच आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा आरक्षण नेशनल एकेडेमीलाई २–० गोलले पराजित गर्दै इडेन गार्डेन स्कुलले उपाधी चुमेको हो । प्रतियोगिताको फस्ट रनरअप आरक्षण नेशनल एकेडेमी, सेकेन्ड रनरअप क्वालिटी इङलिस स्कुल र एसएस सदन स्कुल तथा मदल्याण्ड इङलिस स्कुलले फेयर प्ले टिम उपाधी हात पार्न सफल भएका छन् ।

नेशनल प्याव्सन भक्तपुरका सदस्य विद्यालहरुको कक्षा ५, ६ र ७ मा अध्ययनरत छात्रहरु सहभागी रहेको उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीमा आरक्षण नेशनल एकेडेमीका आर्यन बुढाथोकी र उत्कृष्ट गोल रक्षकमा क्वालिटी स्कुलका सुमन तामाङ् घोषित भएको प्रतियोगिताका संयोजक सुमन शिल्पकारले दिनु भयो ।

आज भएको समापन एवं पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि नेशनल प्याव्सनका नवनिर्वाचित राष्ट्रिय अध्यक्ष पाण्डब हमालले विजेता खेल समूह एवं खेलाडीलाई शिल्ड तथा प्रमाणपत्र र नेशनल प्याव्सनका भक्तपुरका अध्यक्ष संजय खड्काले मेडल वितरण गर्नु भएको थियो ।

प्रमुख अतिथि हमालले नेशनल प्याव्सन भक्तपुरको एकिकृत टिमले गरेको विविध कार्यक्रमबाट देशैभरका जिल्लाले पनि सिक्नु पर्ने बताउँदै भक्तपुर जिल्लाले गर्दै आएको बिभिन्न गतिबिधिले नेशनल प्याब्सनको शान उच्च भएको भन्दै प्रसंशा गर्नु भयो ।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सहकोषाध्यक्ष बिक्रम ढुकुछु, केन्द्रीय सदस्य जीबी खड्का, वाग्मती प्रदेश उपाध्यक्ष पुण्यराम कवां, जिल्ला उपाध्यक्ष शिवकृष्ण कवां लगायतको उपस्थिति रहेको नेशनल प्याव्सन भक्तपुरका सचिव जय प्रकाश राइले जानकारी दिनु भयो ।

कार्यक्रममा नेशनल प्याव्सन भक्तपुर जिल्ला अध्यक्ष संजय खड्काले नवनिर्वाचित राष्ट्रिय अध्यक्ष पाण्डब हमाललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना सँगै मायाको चिनो प्रदान गर्नु भएको थियो ।