चुनावी घोषणापत्रका लागि बालअधिकारका विषय समेट्न सुझाव

काठमाडौँ, १५ चैत: बालबालिकासँग सम्बन्धित विभिन्न सञ्जालले आशन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणापत्रमा बालबालिकासम्बन्धी विषयबारे आज नेकपा (एमाले) लाई सुझाव दिएको छ । एमाले केन्द्रीय कार्यालय, थापाथलीमा आज सो पार्टीका वरिष्ठ उपाध्यक्ष एवं घोषणापत्र तयारी समितिका संयोजक ईश्वर पोखरेललाई सो सुझाव दिइएको हो ।

सुझावपत्र हस्तान्तरण गर्दै अधिकारकर्मी डा कृष्ण सुवेदीले गत निर्वाचनमा एमालेले समावेश गरेका अधिकांश विषय कार्यान्वयनको चरणमा गए पनि बालअधिकार, संरक्षण, बालबालिकामैत्री नीति र बजेट तथा बालमैत्री शासन प्रणालीको कार्यान्वयन हरेक स्थानीय तहमा हुनुपर्ने बताउनुभयो ।

अधिकारकर्मी तारक धितालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धि, नेपालको संविधानको मौलिक हकमा समावेश बालबालिकाका हक स्थानीय तहले कार्यान्वयन गर्दा उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । सो अवसरमा वरिष्ठ उपाध्यक्ष पोखरेलले प्राप्त सुझावलाई ग्रहण गर्दै यस पटकको स्थानीय तहको निर्वाचनमा केन्द्रबाट नीतिगत घोषणापत्र र स्थानीय तहबाट ठोस प्रतिबद्धतापत्र जारी गरिने जनाउनुभयो ।