कहिले खुल्छ त्रिभुवन विश्वविद्यालयकाको ताला
काठमाडौँ, १३ जेठ
त्रिभुवन विश्वविद्यालयका पदाधिकारी कार्यालय, कार्यकक्ष, केन्द्रीय विभाग र क्याम्पसहरूमा ताला लागेको बिहीबार १ सय २९ दिन पुगेको छ । नेपाल विद्यार्थी संघ त्रिवि इकाईले गत माघ ७ देखि तालाबन्दी गरिरहेको छ । त्यसैमाथि आंशिक प्राध्यापक संघले माघ २१ मा अर्को ताला थपेको छ ।
तालाबन्दी भएयता त्रिवि पदाधिकारीको कार्यकक्ष सुनसान छ । त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटा, रेक्टर शिवराज भुसाल र रजिस्ट्रार पेशल दाहालले अन्यत्रै बसेर काम गरिरहेका छन् । उपकुलपति कार्यालयको मूलढोकामा ताला लागेदेखि दैनिक दुई जना गार्डले बाहिरबाटै रखबारी गर्छन् । यति लामो समयदेखि तालाबन्दी हुँदा पनि खोल्न पदाधिकारी र सरकारले गम्भीर पहल गरेका छैनन् ।
रेक्टर शिवलाल भुसालले तालाबन्दी खुलाउन पहल भइरहे पनि परिणाम ननिस्किएको बताउनुभयो ।
नेविसंघले केपी ओली नेतृत्व सरकारले त्रिवि पदाधिकारीको एकलौटी नियुक्ति गरेको भन्दै राजीनामाको माग राखेको छ । आंशिक प्राध्यापकले समान कामका लागि समान ज्याला, त्रिवि शिक्षकरकर्मचारी ऐन २०५० अनुसार करिब २ हजार २ सय आंशिक शिक्षकलाई दरबन्दीअन्तर्गत करारको माग राखेका छन् । त्रिवि रजिस्ट्रार कार्यालयले गत चैतदेखि आंशिक रूपमा पढाउँदै आएका शिक्षकलाई करार नियुक्ति गर्न क्याम्पसलाई परिपत्र गरेको थियो तर वार्ता नगरी त्यसरी परिपत्र गरिएपछि आन्दोलनरत प्राध्यापक संघले असहमति जनाएको थियो ।





