बालिका बलात्कारको आरोपमा २० महिनापछि युवक पक्राउ

काठमाडा,ैँ १३ जेठ ।
भक्तपुरमा एक बालिकामाथि बलात्कार भएको २० महिनापछि बलात्कारका आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । पीडित बालिकाका परिवारले घटनाको २० महिनापछि मात्रै बलात्कार भएको पत्ता लगाएका थिए ।
प्रहरीले भने अभिभावकबाट उजुरी आएको केही घण्टामै आरोपित सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–३ का १९ वर्षीय शमशेर पहरीलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरी वृत्त थिमिका प्रमुख डीएसपी हरिनन्दन चौधरीका अनुसार ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १९ वर्षीय पहरीलाई गत शनिबार पक्राउ गरिएको हो ।
कोभिड १९ महामारीको लकडाउनको अवधिमा २०७७ साउन १९ मा विद्यालय बन्द हुँदा डेराको कोठामै नाबालिका बलात्कृत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार पीडित नाबालिकाका अभिभावकले बलात्कार आरोपित पहरीलाई आफ्नै डेराको कोठामा सँगै राखेका थिए । अभिभावक नभएको मौका पारेर धम्क्याएर नाबालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ । नाबालिका बलात्कार घटनापछि आरोपित पहरी सिन्धुपाल्चोक गएर बसेका थिए ।
बालबालिका सम्बन्धी कसुर (बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा ३ (छ, ज) अन्तर्गत मुद्दामा पहरीलाई जिल्ला अदालत भक्तपुरबाट थप अनुसन्धानका लागि ५ दिन म्याद थपिएको डीएसपी चौधरीले बताए ।
पीडित नाबालिका मध्यपुर थिमिस्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत छिन् । उनका अभिभावक दैनिक ज्यालादारी (ज्यामी) काम गर्छन् । पीडितका बुबासँगै ज्यामी काम गर्ने र लकडाउनमा सँगै बस्ने पहरीले पटकपटक नाबालिकालाई यौन शोषण गरेको खुलेको छ ।
पीडित बालिकाको यौनांगबाट रक्तश्राव भएपछि अभिभावकले अस्पताल र्पुयाउँदा बलात्कार भएको कुरा चिकित्सकले पुष्टि गरेका थिए ।