जनप्रतिनिधिका निर्णय : प्राविधिक शिक्षामा छात्रवृत्तिदेखि विपन्नको स्वास्थ्य बीमासम्म
दमौली, १९ जेठ : स्थानीय तह निर्वाचनबाट निर्वाचित तनहुँका १० वटै पालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेर कामको सुरुआत गरेका छन् । पदभार ग्रहणसँगै जनप्रतिनिधिले सर्वसाधारणका लागि हित हुने खालका निर्णय गरेका छन् । भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले नगरभित्र सञ्चालित विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्ने विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गर्नुभएको छ ।
प्रत्येक वडाका एक छात्र र एक छात्रा गरी १३ वडाका २६ विद्यार्थीलाई वार्षिक रु ५० हजारका दरले छात्रवृत्ति प्रदान गरिने त्रिपाठीले बताउनुभयो । प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउन उक्त निर्णय गरिएको नगरप्रमुख त्रिपाठीले जानकारी दिनुभयो ।
प्रत्येक वडा समितिले एक छात्र र एक छात्रालाई छात्रवृत्तिका लागि सिफारिस गर्ने नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख धु्रवराज पौडेलले जानकारी दिनुभयो । सो नगरपालिकामा तीन प्राविधिक शिक्षालय सञ्चालित छन् । भानु–२ स्थित होमराज लोहनी शारदा शिक्षा सदन मावि, भानु–११ स्थित त्रिभुवन मावि र भानु–४ स्थित भानु संस्कृत माविमा प्राविधिक शिक्षा अध्ययन हुँदै आइरहेको छ । यी विद्यालयमा सिभिल इञ्जीनियरिङ, तीनवर्षे कृषि डिप्लोमा र १८ महिने बाली विज्ञान तथा कृषि विषयको टिएसएलसी सञ्चालनमा छन् ।





