शिक्षामन्त्री नै कक्षा १२ को परीक्षामा सहभागी
लुम्बिनी, २१ जेठ । लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसी उद्दीन खाँ कक्षा १२ को परीक्षामा सहभागी भएपछि उनी अहिले चर्चामा छन् । उनले प्रदेश सभामा बुझाएको शैक्षिक योग्यताको प्रमाणपत्रमा स्नातक उत्तीर्ण भएको उल्लेख छ । मन्त्री खाँले रुपन्देहीको मायादेवी गाउँपालिका–५ को हाजीयनातुल्ला माविमा गत वर्ष कक्षा ११ मा भर्ना भएका थिए । उनले यही जेठ १६ गतेदेखि शुरू भएको कक्षा १२ को परीक्षामा सहभागी छन् ।
उनको लुम्बिनी सांस्कृतिक नगरपालिका–९, खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र परेको छ । मन्त्री यादवले आफूले पढाइको महत्त्व बुझाउन आफूले अहिले भर्ना भएर पढ्न थालेको बताए । ‘मैले कक्षा ११ पास गरे १२ को परीक्षा दिएको हुँ,’ मन्त्री खाँले भने, ‘यसअघि अगाडि फरक विषयमा स्नातक गरेको हुँ । अहिले फेरि मलाई शिक्षा संकाय पढ्न मन लागेर पढेको हुँ । मैले पढाइको महत्त्वको सन्देश दिन अहिले परीक्षा दिँदा ‘नेगेटिभ’ रूपमा साथीहरूले बुझेँ ।’
उनलाई यस अगाडि कहाँबाट कुन विषयमा कहाँबाट गर्नुभएको हो भन्ने प्रश्नमा मन्त्री खाँले लोकान्तरसँग थपे, ‘अहिले यो विषयमा म बोल्दिनँ समय आएपछि सबै सप्रमाण देखाउँछ ।’ उनले २०५८ मै आफूले यसअघि स्नातक उत्तीर्ण गरेको दाबी गरे । मन्त्री खाँले पहिलो दिन अंग्रेजी विषयको परीक्षामा सहभागी भए पनि त्यसपछि गएका छैनन् ।
खुदाबगर आदर्श माविका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष प्रकाश शुक्लाले मन्त्री खाँ अंग्रेजीको परीक्षामा सहभागी भए पनि त्यसपछि नआएको बताए । ‘पहिलो दिन आएर परीक्षा दिनुभएको हो, त्यसपछि के पर्यो खै आउनुभएको छैन, केही समस्या परेर हो कि जानकारी भएन,’ शुक्लाले भने ।
मन्त्री खाँले सबै विषयमा परीक्षामा आफू कार्यव्यस्तताले सहभागी हुन नपाएको बताए । स्थानीय एक नेताले सरकारको नीति तथा कार्यक्रम र बजेटका तयारीमा लाग्नुपरेकाले परीक्षामा आउन नपाएको हुन सक्ने बताए । खाँ नेपाली कांग्रेसबाट रूपन्देही क्षेत्र नम्बर ४ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् । ३९ वर्षीय खानले पुनःअध्ययन थालेपछि यहाँका स्थानीय उत्साहित भएका छन् । उनी लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवलबाट दाङ सार्ने विषयमा प्रदेश सभा छलफल हुँदा कुर्सी तोडफोडमा उत्रिएका थिए ।





