विद्यालय आफैँले बनाएको एप सार्वजनिक, अब अभिभावकले घरबाटै गर्नेछन् बालबालिकाकाे निगरानी

सिन्धुपाल्चोक , २१ जेठ । मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्ग्लिस स्कुल आफैँले एप्लिकेशन बनाएको छ । आज शनिवार एक कार्यक्रमकाबीच एप्लिकेशन सार्वजनिक गरिएको छ ।
केही विद्यालयहरूले अरूले बनाएको एप्लिकेशन प्रचलनमा ल्याएको भए पनि विद्यालय आफैँले बनाएको यो पहिलो एप्लिकेशन भएको विद्यालयका अध्यक्ष दिनेश बस्नेतले जानकारी दिनुभयो । विद्यालयको सूचना प्रविधि शाखाको पहलमा एप्लिकेशन तयार भएको हो ।
यस एप्लिकेशनबाट अभिभावकले घरमै बसेर आफ्ना बालबालिकाको निगरानी गर्न सक्नेछन् । एप्लिकेशनमा शिक्षकको पाठ योजना, गृहकार्य, विद्यार्थीको हाजिरीलगायतको जानकारी रहेको विद्यालयले जनाएको छ । एप्लिकेशनको सुरुवात भएसँगै अब अभिभाकहरूले आफ्नो बालबच्चाको बारेमा बुझ्न विद्यालयमै धाउन पर्ने छैन । विद्यालयले हरेक दिन एप्लिकेशनमा विद्यार्थीको क्रियाकलापबारे अद्यावधिक गराइराख्ने छ ।
Smartmcses नाम गरेको एप्लिकेसन प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने विद्यालयले जनाएको छ । एप्लिकेशन सार्वजनिक गर्दै विद्यालयले अभिभावकहरूलाई उत्प्रेरणा कार्यक्रम पनि गरेको छ । यस्तै विद्यालयले मेलम्ची नगरपालिकाका नवर्निवाचित जनप्रतिनिधिलाई सम्मान पनि गरेको छ । कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर आइतमान तामाङले सामुदायिक र सरकारी विद्यालयहरूले गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।