दुई शिक्षकलाई थुनामा पठाउने आदेश
काठमाडौँ, ७ असार : जिल्ला अदालत काठमाडौँले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुव्र्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिनुभयो ।
जिल्ला अदालत काठमाडौंले मंगलबार कलेजका को–अर्डिनेटर काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१ घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ४७ जनार्दन अधिकारी र शिक्षक कागेश्वरी मनोहरा–७ का ५१ वर्षीय राजनकुमार पौडेललाई पुर्पक्षमा थुनामा राख्न आदेश दिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । गत जेठ १० गते काठमाडौं महानगर–७ चाबहिलस्थित सेन्ट लरेन्स कलेजको कोर्ष को–अर्डिनेटर अधिकारी र शिक्षक पौडेल विद्यार्थीहरुमाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका थिए ।
सेन्ट लरेन्स कलेजमा अध्ययनरत विद्यार्थीका अभिभावकले नाबालिका छोरीहरुलाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए । कोर्ष को–अर्डिनेटर अधिकारी र शिक्षक पौडेलउपर मुलुकीअपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २२५ को बाल यौनदुरुपयोग गर्न नहुनेसम्बन्धी कसूर मुद्दामा अदालतबाट पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाउने आदेश दिएको हो ।





