अनाथ बालबालिकालाई स्टेशनरी सामाग्री वितरण

भक्तपुर, ३० असार : भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर क्षेत्रमा अध्ययतरत अनाथ बालिबालिकालाई स्टेशनरी सामाग्री वितरण गर्नुभएको छ । भक्तपुर नपाको आयोजनामा भएको उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले ३१ जना बालबालिकाहरुलाई स्कूल ब्यागसहित स्टेशनरी सामाग्री वितरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले आर्थिक रुपले पिछडिएका विद्यार्थीहरुलाई शिक्षा हासिल गर्नबाट बञ्चित हुन नदिन शैक्षिक ऋण तथा छात्रवृत्तिको व्यवस्था गर्दै आइरहेको बताउनुभयो । विद्यार्थीहरु नैतिकवान हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले विद्यार्थीहरु आफ्नो लक्ष्य प्राप्त गर्न प्रतिबद्ध भएर अध्ययनमा लाग्नुपर्ने बताउनुभयो ।

प्रमुख प्रजापतिले विद्यार्थीहरुको साथ र संगत राम्रो भए उनीहरुको भविष्य पनि राम्रो हुने बताउनुहुँदै शिक्षक शिक्षिकाहरुले विद्यार्थीहरुलाई गलत काम गर्नबाट समयमै सचेत पार्नुपर्ने बताउनुभयो । भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले आर्थिक रुपले कमजोर बालबालिकाहरुलाई राम्रो शिक्षा प्रदान गर्न सके उनीहरु पनि अरु विद्यार्थीसरह व्यक्तित्व विकासमा अगाडि बढ्ने बताउनुभयो ।

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले विद्यार्थी जीवनदेखि राम्रोसँग मेहनत गरी अध्ययन गर्न विद्यार्थीहरुलाई प्रेरित गर्नुभयो । कार्यक्रम कार्यपालिका सदस्य रोशनमैया सुवालको सभापतित्वमा भएको थियो भने कार्यपालिका सदस्य छोरीमैंया सुजखू र वडा नं. ८ का वडा सदस्य सुमित्रा बोहजूले पनि बोल्नुभएको थियो ।

स्टेशनरी सामाग्री वितरण कार्यक्रममा समाजसुधार, बालविकास इ. स्कूल, ब्रम्हचारिणी, बासु मावि, भीम आदर्श, बागीश्वरी, वाइजल्याण्ड र मेधा माविमा अध्ययनरत ३१ जना अनाथ बालबालिकाहरुलाई पेन, साइनपेन, सिसाकलम, बक्स, कलर बक्स, पेन्सिल कलर, स्केल, कम्पास, ड्रइङ कपी, प्रोट्याक्टर, कापी, गम, कैची, सेलो टेप, एक्ज्याम बोर्ड, स्टीक फाइल र स्कुल ब्याग वितरण गरिएको थियो ।