‘शिक्षक पहिले विद्यार्थी बन्न आवश्यक’
“मेहेनती र अध्ययनशील शिक्षकले नै विद्यार्थीलाई विषयवस्तुमाथि राम्रोसँग प्रस्ट्याउन सक्छ र छोटो समयमा धेरै ज्ञान दिन सक्छ र यसका लागि हामी पनि विद्यार्थी बन्न अर्थात् विषयवस्तुको ज्ञान हुनुपर्छ”, उहाँ भन्नुहुन्छ, “शिक्षकले कुन विषयवस्तु शिक्षण गरिँदैछ, शिक्षणको उद्देश्य के हो ? कतातिर जाँदैछ अर्थात् विषयवस्तु शिक्षण गर्दा कुन कुरालाई बढी केन्द्रित गर्नेजस्ता कुराको तयारी गर्न आवश्यक छ । म कक्षामा जानुपूर्व पाठ्यक्रमका आधारमा तयारी गरेर जान्छु ।” ज्ञान र सिकाइ जति अध्ययन ग¥यो त्यति बढ्दै जान्छ । शिक्षकले शिक्षण गर्दा विद्यार्थीको मनोविज्ञानसमेत अध्ययन गर्नुपर्छ । कुन विद्यार्थीले कसरी कुन माध्यमबाट विषयवस्तुलाई शिक्षण गर्दा विद्यार्थीले छिटो बुभछ भन्ने कुराको ज्ञान हुन जरुरी रहेको सरस्वती माध्यामिक विद्यालय बनगाउँकी अङ्ग्रेजी शिक्षक सम्झना अर्याल बताउनुहुन्छ ।
“सबै शिक्षकले नियमित कक्षामा गई कक्षा शिक्षण गर्नुहुन्छ । तर कक्षामा जानुपूर्व विषयवस्तु राम्रोसँग अध्ययन गरेको र नगरेको शिक्षकले विद्यार्थीलाई दिने ज्ञान र विषयवस्तुमाथिको दखलतामा फरक देखिन्छ”, उहाँ भन्नुहुन्छ, “राम्रो शिक्षणका लागि शिक्षक पनि विद्यार्थी हुन जरुरी छ । विषयवस्तुमाथि पूर्वतयारी जरुरी छ ।” यसैगरी शिक्षकले कक्षामा शिक्षण गर्दा शिक्षणपश्चात विद्यार्थीको उपलब्धि के रहन्छ भन्ने कुराको ज्ञान लिनुपर्ने हुन्छ ।
विद्यार्थीलाई कति मात्रामा ज्ञान दिने, कुन विधिमार्फत शिक्षण गर्ने भन्ने कुरा शिक्षकले मानसिकता बनाएर मात्र कक्षामा प्रवेश गर्नुपर्ने त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्र कठायतको भनाइ छ । “शिक्षकको तयारी र ज्ञानका भरमा शिक्षण सिकाइमा प्रभाव पर्छ”, उहाँ भन्नुहुन्छ, “सिकाइ प्रभावकारी बनाउन शिक्षक पहिला विद्यार्थी बन्नुपर्छ । शिक्षकले कक्षाकोठा र विद्यार्थीबाट पनि ज्ञान लिइरहेको हुन्छ ।” मानिस आफैँमा पूर्ण हुँदैन सिकाइमा पूर्णताका लागि मेहेनत निरन्तर आवश्यक हुन्छ ।
समय र परिस्थितिअनुसार विषयवस्तु परिवर्तन भइरहने भएकाले शिक्षकले पहिले आफूले विषयवस्तु राम्रोसँग अध्ययन गरेर कक्षाकोठामा प्रवेश गरेमा सिकाइ प्रभावकारी र गुणस्तरीय हुने लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपाने बताउनुहुन्छ । “विषयवस्तु राम्रोसँग अध्ययन गरेको र पूर्वतयारी गरेको शिक्षकले नै राम्रोसँग शिक्षण गर्न सक्छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले सिकाइका लागि शिक्षकको लगाव र रुचि पनि महत्वपूर्ण हुन्छ ।” शिक्षा तथा समन्वय एकाइ कैलालीका अनुसार जिल्लामा जम्मा ५६५ सामुदायिक विद्यालय छन् ।





