एसईई परीक्षाको नतिजा आज दिउँसो सार्वजनिक हुदैँ

भक्तपुर, ११ साउन : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज दिउँसो तीन बजे सार्वजनिक गर्ने भएको छ ।

एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने सबै तयारी पुरा भएको जानकारी दिदै एसईई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायामाझीले आज दिउँसो ३ बजेभित्र परीक्षाफल सार्वजनिक गर्ने जानकारी दिनु भयो ।

विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरु कहिले जन्म मिति, कहिले अंक, त कहिले के मिस्टेक भयो भन्दै सच्याउन आउनेको भीड लाग्ने गरेकाले त्यस्तो समस्या नआओस भनेर यस पटक अलि कडाईका साथ विद्यार्थीको विवरण रुजु गर्ने कार्य भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन गएको उहाँले बताउनु भयो । स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको उहाँले बताउनु भयो ।

शिक्षाका कर्मचारीदेखि उत्तर पुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक शिक्षिका निर्वाचनमा खटिएकाले उत्तर पुस्तिका परीक्षणमा पनि केही ढिला हुँदा नतिजा सार्वजनिक गर्न पनि केही दिन ढिलाई हुन गएको नतिजा केही दिन ढिला हुन गएको उहाँको भनाई छ ।

कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा दुई हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरि ५ लाख १४ हजार ९७७ परीक्षार्थी सहभागि भएका छन् नियन्त्रक रायामाझीले जानकारी दिनु भयो ।